काठमाडौं ।

विगतमा नेपाल टेलिकमको सिम लिने प्रक्रिया झन्झटिलो हुँदा धेरै प्रयोगकर्ताले अर्काको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्दै आइरहेका छन्।

सूचना प्रविधिको तीब्र विकाससँगै विभिन्न अनलाइन सेवा उपयोग गर्न मोबाइल नम्बरको प्रयोग आवश्यक हुन्छ। विभिन्न अनलाइन सेवा उपयोग गर्दा मोबाइल नम्बरमा ओटीपी लगायत अन्य अत्यावश्यक सूचना आउने गर्छ। गोपिय सूचनालाई अनाधिकृत व्यक्तिको पहुँचमा पुग्नबाट रोक्न पनि आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुपर्ने हुन्छ।

यदि अरुको नामको सिम प्रयोग गर्ने गर्नु भएको छ भने भोली ती व्यक्तिले सिमकार्ड ब्लक गरेर आफैँ प्रयोग गर्ने सम्भावना पनि हुन्छ।

तपाईले प्रयोग गर्ने विभिन्न सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, भुक्तानी सेवा प्रदायक वालेटलगायतको पासवर्ड परिवर्तन गर्दा पनि मोबाइल नम्बरमानै ओटीपी आउने गर्छ। अन्य व्यक्तिको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्दा तपाईको अत्यावश्यक महत्वपूर्ण सेवा अवरुद्ध हुनका साथै धन र सामाजिक प्रतिष्ठा पनि गुम्न सक्छ। यस्तो समस्याबाट बच्नका लागि सकभर आफ्नै नाममा सिमकार्ड लिनु पर्ने हुन्छ।

साथै, राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको छ। मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरु सुरक्षित साथ प्रयोग गर्न सकिने अवस्था पनि सिर्जना भएको छ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ। नेपाल टेलिकम सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न विभिन्न समयमा अनुरोध गर्दै आइरहेको छ।

आफूले प्रयोग गर्ने सिम अरुको नाममा दर्ता भएको भए यसरी आफ्नो नाममा ल्याउन सकिन्छ

यदि तपाईले प्रयोग गर्ने सिम आफ्नो नाममा नभएमा जसको नाममा दर्ता छ उसको नागरिकता प्रमाणपत्र र आफ्ना नागरिकता प्रमाणपत्र र १ प्रति पासपोर्ट साइजको फोटोसहित दुबैजना नेपाल टेलिकमको नजिकैको काउन्टरमा सम्पर्क गरी सिमकार्डको नासारी गर्न सकिन्छ।

कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरीनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपी, तथा सिम लिनआउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्र सहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुन्छ।

वास्तविक प्रयोगकर्ता भन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याँई गरेर पनि नेपाल टेलिकमको सिमकार्ड परिवर्तन गर्न अर्थात आफ्नो नाममा ल्याउन सकिन्छ।