नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेला स्थलमा बस्न आग्रह गरेका छन्।

राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले भने, ‘एमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्‍यो।’

हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरू हलबाट बाहिरिएको, अनधिकृत व्यक्तिहरूको समेत प्रवेश भएपछि अध्यक्ष ओलीले आज सहभागी र स्वयंसेवकहरूलाई कडाइका साथ अनुशासन पालन गर्न निर्देशन दिए।

‘भेलालाई भेला जस्तो बनाउनु पर्छ। हिजो अन्तिममा फाट्टफुट्ट साथीहरू मात्रै थिए। घरका मान्छेहरूले सोधे भने के गर्ने होला? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ। उहाँहरूको अनुमतिमा जानुहोला। शौचका लागि नजिक शौचालयमा जानुहोला। कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो’, उनले भने, ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन।’