चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभीरस्थित पृथ्वी लोकमार्गमा सडकमाथिबाट खसेको ढुङ्गाले लागेर एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौंबाट मुग्लिङतर्फ आउँदै गरेको बा.८५ प ६०१ नम्बरको मोटरसाइकलमा मंगलबार दिउँसो करिब ३:२२ बजे अचानक माथिबाट ढुङ्गा खस्दा ललितपुर महानगरपालिका-२० का ६१ वर्षीय गंगाराम महर्जनको ज्यान गएको हो।

टाउकोमा ढुङ्गाले लागेर गम्भीर घाइते भएका महर्जनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो। अस्पताल पुऱ्याइएका उनलाई चिकित्सकले अपराह्न ४:४९ बजे मृत घोषणा गरेका थिए। उनको साथमा फेला परेको लाइसेन्सका आधारमा पहिचान खुलेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।