चितवनको भण्डारास्थित मौरीपालन विकास केन्द्रमा चिउरीको कलमी प्रविधिबारे परीक्षण सुरु गरिएको छ।
समशीतोष्ण क्षेत्रका लागि चिउरी कलमी प्रविधि विकासमा सफलता मिलेपछि उपोष्ण क्षेत्रका लागि उपयुक्त प्रविधि पहिचान गर्न परीक्षण थालिएको हो। मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाइँका अनुसार गत साउनदेखि चिउरी कलमीसम्बन्धी परीक्षण भइरहेको छ।
हालसम्म चार चरणमा परीक्षण गरिएको छ। पछिल्लो चरणमा मात्रै १२० वटा चिउरीका बिरुवामा कलमी गरिएको छ। कुन महिनामा कलमी गर्दा बढी सफलता प्राप्त हुन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। सामान्यतया बिउबाट उत्पादन गरिएका च्युरीका बिरुवामा फूल फुल्न सातदेखि आठ वर्ष लाग्ने गरेको छ तर कलमी प्रविधिबाट उत्पादन गरिएका बिरुवामा भने दुईदेखि तीन वर्षमै फूल फुल्न सक्ने देखिएको छ’, उनले भने। यसले मौरीको चरन क्षेत्र विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।’
पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रवीन्द्र थापाका अनुसार चिउरी कलमी प्रविधिको अनुसन्धान ६ वर्षअघि सुरु गरिएको हो। सुरुमा कलमी प्रविधि सफल हुन्छ कि हुँदैन भन्ने विषयमा परीक्षण गरिएको थियो। झन्डै दुई वर्षको अनुसन्धानपछि कलमी प्रविधि सफल भएको पाइएको उनले बताए। उनका अनुसार वैशाखदेखि साउनसम्म कलमी गर्दा करिब ७० प्रतिशत सफलता प्राप्त भएको छ । कृषि विकास केन्द्रमा असार र साउनमा कलमी गरिएका बिरुवामा दोस्रो तथा तेस्रो वर्षमा पनि फूल फुलेको पाइएको छ।
पहिले बिउबाट बिरुवा उत्पादन गरी रोप्ने चलन रहेकोमा फूल फुल्न १२ देखि १४ वर्षसम्म लाग्ने गरेको थियो। कलमी प्रविधिले फूल फुल्ने समय घटाउने भएकाले मौरीपालन व्यवसायका लागि यो प्रविधि उपयोगी हुने थापाको भनाइ छ।
मौरी विकास केन्द्र भण्डाराले बिउबाट बेर्ना तयार गरी कलमी गर्न योग्य बनाएर पुष्प विकास केन्द्रलाई बेर्ना उपलब्ध गराउँदै आएको थियो। अहिले भण्डारामा नै कलमी बिरुवाको परीक्षण गरेर पुष्प विकास केन्द्र भण्डारालाई दिन थालिएको हो। पुष्प विकास केन्द्रले कलमी गरिएका बिरुवा किसान, सामुदायिक वन तथा व्यवसायीलाई वितरण गर्ने गरेको छ।
थापाका अनुसार पछिल्लो दुई वर्षदेखि व्यावसायिक रूपमा बिरुवा उत्पादन तथा वितरण भइरहेको छ। हालसम्म पाँच हजारभन्दा बढी बिरुवा बिक्री तथा वितरण भइसकेका छन्। किसानलाई प्रतिव्यक्ति २० देखि २५ वटासम्म बिरुवा उपलब्ध गराउने गरिएको छ। रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्याम्पस परिसरमा चिउरीको ब्लक स्थापना गरिएको छ भने राक्सिराब र धादिबलगायतका क्षेत्रमा पनि चिउरीका बिरुवा बनाउने कार्य विस्तार भइरहेको छ।
चिउरीका बिरुवा प्रतिगोटा करिब १००-१५० रुपैयाँसम्ममा बिक्री वितरण हुने गरेको छ। मौरीपालनको सम्भावना भएका स्थानीय तह तथा क्षेत्रलाई प्राथमिकतामा राखेर बिरुवा वितरण गर्ने गरिएको छ। स्थानीय तहहरूले पनि चिउरी रोपण तथा विस्तारमा चासो देखाएका छन्। मौरीपालन हुने क्षेत्रका स्थानीय पालिकाले पनि चिउरीका विरुवा खरिद गर्नुभएको छ’, उनले भने। अहिले सडक किनारामा पनि कलमी गरेका चिउरीका बिरुवा लैजाने क्रम बढ्दो अवस्थामा छ।’
चिउरीको कलमी प्रविधिबाट कम समयमा फूल फुल्ने बिरुवा उत्पादन गर्न सकिने भएकाले मौरीका लागि आवश्यक आहारको उपलब्धता बढ्ने र मौरीपालन व्यवसायलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा उनले गरे। कलमी गरेका बिरुवाको उचाइ बढी नहुने र छोटो समयमा उत्पादन लिन सक्ने भएकाले व्यावसायिक रूपमा खेती गर्ने किसानलाई समेत राम्रो मानिएको उनले बताए। बिऊबाट हुर्किएको बिरुवाले उत्पादन दिन १२ देखि १४ वर्ष लाग्छ’, उनले भने। कलमी गरेको बिरुवाले दुई वर्षमा नै उत्पादन दिने गर्दछ, उनले भने छोटो अवधिमा उत्पादन दिने भएपछि किसानको समेत माग बढ्ने देखिन्छ।’

प्रतिक्रिया