नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज १५.२ ओभरमा १३७-६ को नाजुक स्थितिमा पुगेको छ।

आक्रामक ब्याटिङ गरिरहेका रशिद खान र जहान्दाद खान लगातार आउट भएपछि काठमाडौंमाथि हारको दबाब बढेको छ।

जितका लागि काठमाडौंलाई अब बाँकी २८ बलमा ८८ रन आवश्यक छ भने हातमा केवल ४ विकेट मात्र बाँकी छन्।

८.९३ को रनरेटमा खेलिरहेको काठमाडौंका लागि ८६-४ को अवस्थाबाट रशिद र जहान्दादले २० बलमा ४४ रनको साझेदारी गर्दै आशा जगाएका थिए। तर १४.४ ओभरमा जहान्दाद र १५.२ ओभरमा रशिद आउट भएपछि काठमाडौँको इनिङ्स फेरि धर्मराएको हो।

रशिद २० बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाएर विपिन खत्रीको बलमा कुशल भुर्तेलबाट क्याचआउट भए। त्यसअघि जहान्दाद १२ बलमै ३ छक्काको मद्दतले २४ रन जोडेर रमेश मेन्डिसको बलमा पोखराका कप्तान चमिका करुणारत्नेबाट समातिएका थिए।

यसअघि ओपनर तथा विकेटकिपर साहिल पटेल ३४, विलियम बोसिस्टो २६, भीम सार्की ८ र सहन अरच्चिगे १ रन बनाएर आउट भएका थिए। ताजा अवस्थामा कप्तान करण केसी शून्य रनमा अविजित छन् भने सन्तोष यादव, सुमित महर्जन, सोनु देवकोटा र गणेश गौतम ब्याटिङका लागि आउन बाँकी छ।

पोखराका बलर दिनेश खरेलले काठमाडौंको शीर्ष र मध्यक्रम ध्वस्त पार्ने क्रममा ३ ओभरमा केवल १५ रन खर्चेर ३ विकेट लिए। उनले साहिल पटेल, विलियम बोसिस्टो र सहन अरच्चिगेलाई आउट गरेका हुन्।

यस्तै, विपिन खत्रीले ३.२ ओभरमा २७ रन दिएर २ विकेट र ४ ओभर पूरा गरेका रमेश मेन्डिसले ४० रन खर्चेर १ विकेट लिए। धनञ्जय लक्षणले २ ओभरमा १२, कुशल भुर्तेलले २ ओभरमा २७ र कप्तान चमिका करुणारत्नेले १ ओभरमा १० रन खर्चिए। काठमाडौँले अतिरिक्तका रूपमा १३ रन पाएको छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कुशल भुर्तेलको ९९ र युवराज सम्राको ८९ रनको मद्दतले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो।