नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीन वटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला, ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ।

त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुने उनले जानकारी दिए।

राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेला सकिएपछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ।