नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५९ रनमै सीमित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिताको २१ औं खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी मात्र १ रन बनाएर आउट भएपछि टोली थप संकटमा परेको हो। उनलाई ९.१ ओभरमा आदित्य महताले आफ्नै बलमा क्याच आउट गरे।

हाल क्रिजमा ब्रेन्डन म्याकमुलन १७ बलमा २ चौका र १ छक्कासहित २५ रन बनाएर टिकिरहेका छन् भने उनलाई थारिन्दु रत्नायके २ रन बनाएर साथ दिइरहेका छन्।

यसअघि सुदूरपश्चिमको सुरुवात निकै कमजोर रह्यो। ओपनर विनोद भण्डारी १० बलमा २ चौकासहित १० रन बनाएर ३.५ ओभरमा २२ रनको कुल स्कोर हुँदा रनआउट भए।

अर्का ओपनर सेफ जेबले १९ बलमा कुनै बाउन्ड्री प्रहार नगरी १० रन बनाएर राहुल यादवको बलमा बोल्ड भए। इशान पाण्डे ८ बलमा ३ रन जोड्दै जनकपुरका कप्तान हरमित सिंहको बलमा बोल्ड आउट भए।

सुदूरपश्चिमले पछिल्लो ५ ओभरमा मात्र २६ रन जोड्दा ३ महत्त्वपूर्ण विकेट गुमाएको हो।

जनकपुरका बलरहरूले कसिलो बलिङ गर्दै रनको गति रोकेका छन्। आदित्य महताले १ ओभरमा ३ रन दिएर १ विकेट, कप्तान हरमित सिंहले २ ओभरमा ५ रन दिएर १ विकेट र राहुल यादवले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए। ह्यारी टेक्टरले २ ओभरमा ५ रन र ललित राजवंशीले २ ओभरमा १५ रन खर्चिएका छन्। सुदूरपश्चिमले अतिरिक्त ८ रन पाएको छ।

सुदूरपश्चिमका लागि आरिफ शेख, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहरा ब्याटिङमा आउन बाँकी छन्।