बर्दियाको बढैयातालमा हुलाकी सडक छेउको विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका १६ वर्षीय एक किशोरको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार कोहलपुर नगरपालिका-९ निवासी १६ वर्षीय रिदम थापाको भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मंगलबार बिहान ७ बजे मृत्यु भएको हो। उनको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर-९ कै २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार श्रेष्ठको अवस्था गम्भीर रहेकाले सोही अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्बरको मोटरसाइकल सोमबार बिहान ७:२५ बजे बढैयाताल गाउँपालिका-८ शीतलाबजारस्थित हुलाकी राजमार्गमा आफैं अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो।

दुर्घटनालगत्तै दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको थियो। त्यहाँ अवस्था जटिल देखिएपछि थप उपचारका लागि भारतको लखनउ पुर्‍याइएको थियो।

दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी शीतलाबजारमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।