जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहको घातक बलिङसामु सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिमले जनकपुरलाई जितका लागि मात्र १२१ रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो।
जनकपुरका कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै सुदूरपश्चिमको इनिङ्स ध्वस्त पारे। उनले ४ ओभरमा मात्र १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै ह्यारी टेक्टरले अत्यन्तै किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र ९ रन दिएर १ विकेट हात पारे।
सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलनले सर्वाधिक ३३ रनको योगदान दिए। उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे। आठौं नम्बरमा आएका थारिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्काको मद्दतमा अविजित २७ रन जोड्दै टोलीको स्कोर १०० रन पार गराएका थिए।
यसबाहेक सुदूरपश्चिमका अन्य कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन्। आरिफ शेखले ११ रन बनाउँदा ओपनरद्वय विनोद भण्डारी र सेफ जेबले समान १०-१० रन मात्र जोड्न सके। कप्तान दीपेन्द्र सिंह ऐरी मात्र १ रन बनाएर आउट भए।
स्कट कुगेलेइन ६, अनिल खरेल ४, इशान पाण्डे ३ र हेमन्त धामी शून्य रनमै पेभेलियन फर्किए। अविनाश बोहरा २ रनमा अविजित रहे। सुदूरपश्चिमले अतिरिक्त १३ रन पाएको थियो।
जनकपुरका लागि अन्य बलरहरू आदित्य महताले ३ ओभरमा १९ रन, राहुल यादवले ४ ओभरमा २४ रन र अभिषेक तिवारीले १ ओभरमा ७ रन दिएर १-१ विकेट हात पारे। ललित राजवंशीले ३ ओभरमा २४ रन र रायन बर्लले १ ओभरमा १५ रन खर्चिए।

प्रतिक्रिया