घरआँगनमा दियोको झिलिमिली छ, दिदीबहिनीहरू भाइटीकाको तयारीमा छन्, परिवारहरू भेटघाट र रमाइलोमा जुटिरहेका छन्। तर, यही तिहारको रौनक छोडेर हजारौँ नेपाली भने परदेशको यात्रामा छन्।

कसैका लागि रोजगारीको खोजी त कसैका लागि उच्च शिक्षाको सपना । नेपालीको महान् चाडको मुखमै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिनेहरूको लर्को रोकिएको छैन।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका राकेश परियारको अनुहारमा तिहारको उत्साहभन्दा परदेश जाने पीडा बढी झल्किन्थ्यो। रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका उनी भाइटिकाको पूर्वसन्ध्यामा घरपरिवार छोड्नुपर्दा दुःखी थिए। तर, स्वदेशमा रोजगारीको पर्याप्त अवसर नदेखेपछि विदेशिनुको विकल्प नभएको उनको भावले स्पष्ट देखिन्थ्यो।

‘दुःख लागेको छ, तिहारको दिन जान परेको छ। पढाइ सकिएपछि अब जाउँ जस्तो लागेर जान लागेको छु,’ उनले भने।

परियार एक्ला पात्र होइनन्। उनी त तिहारको झिलिमिली छोडेर रोजगारी र भविष्यको खोजीमा परदेशिने नेपालीहरूको लामो लर्कोका प्रतिनिधि पात्र मात्र हुन्। तिहारको तेस्रो दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने नेपालीहरूको चहलपहल उस्तै थियो।

वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न व्यक्तिगत प्रयोजनका लागि विदेशिने नेपालीहरूको भीडले चाडपर्वको समयमा पनि विमानस्थल व्यस्त देखियो। एकातिर घरमा भाइटीकाको तयारी, अर्कोतिर हातमा राहदानी र टिकट बोकेर विमान चढ्ने हतार—विमानस्थलका यस्ता दृश्यले नेपाली समाजको एउटा पीडादायी यथार्थलाई फेरि उजागर गरेको छ।

चाडपर्व भनेको परिवारसँग बस्ने, सुखदुःख साट्ने र आफन्तसँग रमाउने समय हो। विगतमा धेरै नेपाली चाडपर्व मनाएर मात्रै विदेश जाने गर्थे। तर, अहिले परिस्थिति बदलिएको छ। रोजगारीको सम्झौता, भिसाको समय, कलेजको शैक्षिक तालिका र आर्थिक दबाबले नेपालीहरूलाई चाडपर्वको मुखमै पनि घर छोड्न बाध्य बनाइरहेको छ।

सरकारहरूले स्वदेशमै रोजगारी सिर्जना गर्ने, विदेशमा रहेका नेपालीलाई फर्केर आफ्नै देशमा काम गर्ने वातावरण बनाउने र युवाशक्तिलाई देशमै रोक्ने प्रतिबद्धता पटकपटक जनाउँदै आएका छन्। तर, ती प्रतिबद्धता व्यवहारमा पर्याप्त रूपमा कार्यान्वयन हुन नसक्दा वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या अपेक्षाअनुसार घट्न सकेको छैन।

विदेशिनु सबैका लागि केवल रहर पनि होइन। धेरै युवाका लागि यो परिवारको आर्थिक आवश्यकता पूरा गर्ने माध्यम बनेको छ। पढाइ पूरा गरेपछि योग्यताअनुसारको काम नपाउनु, न्यून आय, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताले युवालाई परदेशको बाटो रोज्न बाध्य बनाइरहेको छ। कतिपयका लागि उच्च शिक्षा र राम्रो भविष्यको खोजी पनि विदेश यात्राको कारण बनेको छ।

विमानस्थल प्रशासनका अनुसार चाडपर्वका बेला विदेशिनेको संख्यामा केही कमी आएको जस्तो देखिए पनि विदेशिने क्रम रोकिएको छैन। यस तिहारमा पनि अध्ययन, रोजगारी तथा अन्य व्यक्तिगत प्रयोजनका लागि नेपालीहरू निरन्तर विदेश गइरहेका छन्।

तिहारको झिलिमिलीमा घर फर्किनुपर्ने नेपालीहरू नै उल्टै घर छोडेर परदेशिनुपर्ने अवस्थाले तिहारको मुखमै विदेशिनु नेपाली युवाको रहर हो कि स्वदेशले सिर्जना गरेको बाध्यता भन्ने प्रश्न उठाएको छ।

धेरै युवाको हातमा अहिले भाइटीकाको सप्तरंगी टीका होइन, राहदानी र हवाई टिकट छ। घरमा बलिरहेको दियोको उज्यालो छोडेर उनीहरू परदेशको भविष्य खोज्न विमान चढिरहेका छन्। सरकारका रोजगारी सिर्जनाका प्रतिबद्धता र युवालाई स्वदेशमै रोक्ने भाषणबीच पनि विमानस्थलबाट नरोकिने यही लर्कोले सरकारलाई गिज्याईरहेको छ।