संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले साना, सिर्जनात्मक तथा प्रभावकारी कला परियोजनालाई प्रोत्साहन गर्ने उद्देश्यले कला सङ्घ–संस्थासँग प्रस्ताव माग गरेको छ।

प्रतिष्ठानले ‘पकेट आर्ट प्रोजेक्ट कोल्याबोरेसन’ कार्यक्रमअन्तर्गत खुला आह्वान गरेको हो।

कार्यक्रमअन्तर्गत छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ। यस चरणमा अधिकतम चारवटा परियोजना छनोट गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार प्रतिस्थापन कला (इन्टलेसन आर्ट), फोटोग्राफी, भिडियो आर्ट, डिजिटल आर्ट, पर्फर्मेन्स आर्ट, सार्वजनिक कला तथा अन्य समकालीन प्रयोगात्मक कलासम्बन्धी परियोजनाले प्रस्ताव पेस गर्न सक्नेछन्।

नेपालमा कानुनी रूपमा दर्ता भएका कला सङ्घ–संस्थाले मात्र यस कार्यक्रममा आवेदन दिन पाउनेछन्। प्रस्तावमा संस्थाको परिचय, परियोजनाको अवधारणा, अनुमानित बजेट तथा नेपाल सरकारअन्तर्गतका निकायमा संस्था दर्ता भएको प्रमाणपत्र समावेश गर्नुपर्नेछ।

त्यसैगरी, संस्थाको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ।

परियोजनाको अवधारणा आधिकारिक प्रतिनिधिबाट हस्ताक्षरित हुनुपर्ने र संस्थाको वा प्रतिनिधिको सम्पर्क नम्बर तथा इमेल ठेगाना स्पष्ट उल्लेख गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा मौलिकता, सिर्जनशीलता, कलात्मक सान्दर्भिकता, कार्यान्वयनको सम्भाव्यता र समुदायमा पार्ने प्रभावलाई मुख्य आधार बनाइनेछ।

प्रतिष्ठानले आवेदन पेस गर्ने अन्तिम मिति मङ्सिर १४ गते तोकेको छ।

इच्छुक कला सङ्घ–संस्थाले विस्तृत जानकारीका लागि प्रतिष्ठानको आधिकारिक वेबसाइट हेर्न वा सीताभवन, नक्साल, काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम्पर्क गर्न अनुरोध गरेको छ।