नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

बिहीबार ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनम सापकोटाको बयानका आधारमा थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे।

उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गैरकानुनी रूपमा पक्राउ गर्न दबाब दिइएको र नमानेपछि पदबाट हटाइएको आरोप लगाए। प्रहरी, सञ्चारमाध्यम र न्यायालयमाथि समेत राजनीतिक हस्तक्षेप बढेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति अपनाउन खोजेको आरोप लगाउँदै राणाले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको पक्षमा सबै राजनीतिक शक्ति तथा नागरिक एकजुट हुनुपर्ने बताए।

‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ।’