नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने सम्भावित साइबर आक्रमण नियन्त्रण गरी साइबर सुरक्षालाई थप बलियो बनाउन सूचना प्रविधि (आइटी) नीति लागु गरेको छ।
नेपालको सेयर बजारमा देखिएको यस्तो साइबर (र्यान्समवेयर) आक्रमणपछि बोर्डले साइबर सुरक्षाका लागि आइटी नीति लागु गरेको हो। यसअघि डेटा सेन्टरमा साइबर आक्रमण हुँदा गत असोज ५ गते सेयर बजार नै बन्द गर्नुपरेको थियो।
आगामी दिनमा पनि सेयर कारोबार नै बन्द गर्नुपर्ने अवस्थाबाट मुक्त हुन बोर्डले डिजिटल सुरक्षालाई प्राथमिकता दिँदै नयाँ नीति ल्याएको बोर्डले जनाएको छ।
बुधबारदेखि नै कार्यान्वयनमा ल्याइएको यस नीतिमा सेयर बजारसँग सम्बन्धित पक्षको सूचना प्रविधि सुरक्षा तथा उदीयमान प्रविधिका विषय समेटिएको छ।
बजार कारोबार, राफसाफ तथा फस्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूपको विपद् पुनःप्राप्ति संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्नुपर्ने विषय समेटिएका छन्।
बोर्डले ल्याएको यस नीतिको मुख्य उद्देश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधि पूर्वाधारको विकास, विस्तारमार्फत नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउनु रहेको छ।
बोर्ड, बजार पूर्वाधार संस्था तथा बजार सहभागीहरूले प्रयोग गर्ने डिजिटल पूर्वाधारलाई सुरक्षित, विश्वसनीय र जवाफदेही बनाउन सूचना प्रविधिसम्बन्धी बाह्यकर कार्यलाई स्पष्ट कानुनी तथा प्राविधिक दायराभित्र ल्याउने व्यवस्था मिलाइने सो नीतिमा उल्लेख छ।
यसैगरी सेयर बजारमा साइबर सुरक्षासम्बन्धी घटनाको प्रभावकारी अनुगमन, व्यवस्थापन तथा नियन्त्रणका लागि एकीकृत साइबर घटना प्रतिवेदन पोर्टल स्थापना र विकास गर्न प्रस्ताव गरिएको छ।
सेयर बजारसम्बन्धी महत्वपूर्ण पूर्वाधार तथा व्यवसायीका लागि व्यवसाय निरन्तरता योजना र विपद् पुनरुत्थान योजना हुनुपर्ने व्यवस्था गरिएको छ। धितोपत्र बजारको पूर्वाधारका रूपमा रहेको तथ्यांक केन्द्रलाई बजार पूर्वाधार संस्था तथा बजार सहभागी संस्थासमेतको सहभागितामा साझा तथ्यांक केन्द्र स्थापना गर्ने दिशामा अघि बढाइने बोर्डले जनाएको छ।
बोर्डका अनुसार नीतिको मुख्य उद्देश्य धितोपत्र तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधि पूर्वाधारको विकास र विस्तारमार्फत थप नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउनु हो। नयाँ नीतिले बजार कारोबार प्रणाली, राफसाफ तथा फर्स्याेट संयन्त्र, केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउस तथा अन्य महत्वपूर्ण अभिलेखको सुरक्षित प्रयोगका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुसारको विपद् पुनःप्राप्ति संयन्त्र स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ।
त्यस्तै, बोर्ड, बजार पूर्वाधार संस्था र बजार सहभागीहरूले प्रयोग गर्ने डिजिटल पूर्वाधारलाई सुरक्षित र भरपर्दो बनाउन सूचना प्रविधिसम्बन्धी बाह्य सेवालाई स्पष्ट कानुनी तथा प्राविधिक दायराभित्र ल्याइने भएको छ।
यस नीतिबमोजिम बाह्य सेवा प्रदायकसँग हुने सम्झौतामा सेवास्तर सम्झौता, तथ्यांक सुरक्षा, गोपनीयता, दायित्व, लेखापरीक्षण तथा निरीक्षण अधिकार र सेवा परिवर्तन वा अन्त्य गर्ने रणनीति अनिवार्य गर्नुपर्ने व्यवस्था हुनेछ। बोर्डले सूचना प्रविधिको प्रयोगमार्फत संस्थागत कार्यसम्पादनमा रूपान्तरण गर्दै ‘ई-सेबोन’ अवधारणा विकास गर्ने योजना पनि अघि सारेको छ।

प्रतिक्रिया