नेपालको मौलिक संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा नेपाल पर्यटन बोर्डले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा उत्कृष्ट रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

सहभागीले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो तयार गरी इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ। भिडियो अंग्रेजी भाषामा हुनुपर्ने वा अंग्रेजी सबटाइटल अथवा भ्वाइसओभर राख्नुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ। प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई विश्वभर चिनाउने लक्ष्य राखिएको छ।