मङ्गलबार कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को १२औं खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ।

अन्तिम ओभरसम्म चलेको प्रतिस्पर्धात्मक र रोमाञ्चक भिडन्तमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो।

जितका लागि १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। विराटनगरको जितमा वेस्ट इन्डिजका स्टार खेलाडी आन्द्रे रसेलले ब्याटिङ र बलिङ दुवैतर्फ जादुयी प्रदर्शन गरे।

पहिले ब्याटिङमा आएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। इनिङ्सको पहिलो ओभरमै मोइन अलीले ओपनर शेहान जयसूर्यालाई १ रनमा स्टम्पिङ गराएपछि विराटनगर दबाबमा परेको थियो।

तर, त्यसपछि क्रिजमा आएका लोकेश बम र इमरान शेखले उत्कृष्ट साझेदारी गर्दै इनिङ्स उकासे। यी दुईबीच दोस्रो विकेटका लागि ६९ बलमा १०० रनको शतकीय साझेदारी भएको थियो। इमरानले ४५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए।

यस्तै, विकेटकिपर ब्याटर लोकेशले ४० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको योगदान दिए। १४औं र १८औं ओभरमा इमरान र लोकेश आउट भएपछि क्रिजमा आएका आन्द्रे रसेलले जनकपुरका बलरमाथि प्रहार सुरु गरेका थिए।

रसेलले मात्र २९ बलमा ५ विशाल छक्का र २ चौकाको मद्दतले अविजित ५२ रन बनाए। शुभम रञ्जने ५ बलमा ७ रन बनाएर अविजित रहे। जनकपुरका लागि बलिङतर्फ अभिषेक तिवारीले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए भने मोइन अलीको नाममा १ विकेट रह्यो।

१७५ रनको लक्ष्य पछ्याएको जनकपुरको सुरुवात निकै खराब भएको थियो। ५ ओभर नबित्दै जनकपुरले ३० रनको स्थितिमा आफ्ना भरपर्दा ३ ब्याटर गुमाएको थियो। त्रितराज दास ६, मोइन अली १० र विकेटकिपर अनिल साह शून्य रनमै पभेलियन फर्किए।

सुरुवाती झट्कापछि सइफ हसन र विशाल शुसलिङले उत्कृष्ट साझेदारी गर्दै जनकपुरलाई खेलमा फर्काए। सइफले ४८ बलमा ५ छक्का र २ चौकासहित सर्वाधिक ७१ रनको सानदार इनिङ्स खेले। विशालले ३० बलमा ३ छक्का र २ चौकासहित ४३ रन जोडे।

अन्त्यतिर जेम्स निसमले १५ बलमा ३ छक्कासहित २७ रन बनाएर जितको आशा जगाएका थिए। तर, उनी १९औं ओभरको अन्तिम बलमा रुपेश सिंहको सिकार भएपछि खेल विराटनगरको पक्षमा ढल्कियो।

खेलको अन्तिम ओभरमा जनकपुरलाई जितका लागि रन चाहिएको अवस्थामा आन्द्रे रसेलले उत्कृष्ट बलिङ गरेका छन्। उनले अन्तिम ओभरमा कप्तान हरमित सिंह (०) र इनिङ्सको अन्तिम बलमा सेट ब्याटर सइफ हसन (७१) लाई आउट गर्दै विराटनगरलाई २ रनको रोमाञ्चक जित दिलाएका हुन्।

विराटनगरका लागि रसेलले ४ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। एन्जेलो म्याथ्युजले ३ ओभरमा २५ रन दिएर २ विकेट तथा रुपेश सिंहले २ ओभरमा २१ रन खर्चेर १ विकेट लिए।

विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।