बलिउड उद्योगमा पछिल्लो समय चिन्ता र सुरक्षाको विषय बढेको छ। केही साताअघि मात्र अभिनेता टाइगर श्रफमाथि गोलीबारी भएपछि बलिउडमा सुरक्षा व्यवस्था बढाइएको छ। टाइगरमाथिको उक्त हमलापछि धेरै कलाकारले आफ्नो सुरक्षालाई बढाए सँगै कतिपय कलाकार आफ्नो काम समेत केही समयका लागि रोकिएका थिए।
यसैबिच अभिनेता तुषार कपूरसँग ५ करोड भारतीय रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण फोन आएको छ। फोन गर्ने व्यक्तिले आफूलाई लरेन्स बिश्नोई गिरोहको सदस्य ‘ह्यारी बक्सर’ भएको दाबी गरिएको छ।
तर, मुम्बई क्राइम ब्रान्चलाई उक्त फोन नक्कली हुन सक्ने आशंका छ। फोन गर्ने व्यक्तिले लरेन्स बिश्नोई गिरोहको नाम प्रयोग गरेर अभिनेता तुषार कपूरलाई डराउने र रकम असुल्ने प्रयास गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्राप्त जानकारीअनुसार तुषारलाई एक अपरिचित व्यक्तिले फोन गरेर ५ करोड भारतीय रुपैयाँ माग गरेका छन्। फोन गर्ने व्यक्तिले आफूलाई लरेन्स बिश्नोई गिरोहका सदस्य ह्यारी बक्सर भएको बताएका थिए।
त्यसपछि तुषार कपूरले यसबारे मुम्बई प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले घटनाको अनुसन्धान एन्टी एक्सटर्सन सेल र क्राइम ब्रान्चलाई जिम्मा दिएको छ।
मुम्बई क्राइम ब्रान्चको प्राविधिक टोलीले धम्कीपूर्ण फोनको अडियो रेकर्डिङ परीक्षण गरेको छ। उक्त रेकर्डिङमा सुनिएको आवाजलाई प्रहरीसँग उपलब्ध ह्यारी बक्सरको आधिकारिक अडियो नमुनासँग तुलना गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा दुवै आवाजबीच समानता नदेखिएको उल्लेख छ। यही कारण प्रहरीले फोन गर्ने व्यक्ति वास्तविक रूपमा लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित नभएको हुन सक्ने आशंका गरेको छ।
प्रहरीका वरिष्ठ स्रोतका अनुसार उपलब्ध अडियो नमुनासँग आवाज नमिलेपछि उक्त फोन नक्कली हुन सक्ने सम्भावना देखिएको हो।
तुषारले करिब एक साताअघि प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले फोन गर्ने व्यक्तिको पहिचान र धम्की दिनुको वास्तविक उद्देश्य पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।
हालसम्म यस घटनामा कुनै एफआईआर भने दर्ता गरिएको छैन।
प्रहरीले धम्कीपूर्ण फोनको अडियो रेकर्डिङ कसले पठाएको थियो र त्यसको पछाडि को संलग्न छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
यो घटना अभिनेता टाइगर श्रफसँग सम्बन्धित गोलीबारी घटनाको केही सातापछि सार्वजनिक भएको हो। उक्त घटना पनि मुम्बईको जुहु क्षेत्रमा भएको थियो, जसको अनुसन्धान मुम्बई क्राइम ब्रान्चले गरिरहेको छ।
तुषारसँग फिरौती मागिएको घटनामा पनि लरेन्स बिश्नोई गिरोहको नाम प्रयोग गरिएको छ। तर, प्रारम्भिक अनुसन्धानमा फोन गर्ने व्यक्तिको आवाज ह्यारी बक्सरको आवाजसँग मेल नखाएकाले प्रहरीले यसलाई गिरोहसँग जोडेर हेर्न हतार गरेको छैन।
प्रहरीले फोन गर्ने व्यक्तिको पहिचान पत्ता लगाउने र यस धम्कीको वास्तविक स्रोतसम्म पुग्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया