गत भदौको भोटेकोसी बाढीमा रसुवाका मैलुङ सामुदायिक स्वास्थ्य एकाइ, टिमुरे स्वास्थ्यचौकी र स्याफ्रुबेंसी स्वास्थ्यचौकी बगे। भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटमा त्रिशूली अस्पताल जोड्ने पुल भत्कायो। बाढीबाट तल्लो तटीय क्षेत्र धादिङका चार स्वास्थ्य संस्थामा आंशिक क्षति पुग्यो।

रसुवामा तीन वटा स्वास्थ्यचौकी मात्रै होइन, सडकलगायत अन्य संरचना पनि बाढीले बागायो। बाढीपछि नागरिक र स्वास्थ्य संस्थाबिचको सडक तथा पैदल सम्पर्कसमेत विच्छेद भयो। कतिपय ठाउँमा अस्थायी पुल निर्माण भए पनि केही स्थान अझै सम्पर्कविहीन अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयकी स्वास्थ्य अधिकृत आश्विनी श्रेष्ठले बताइन्।

उनका अनुसार बाढीले स्वास्थ्य संरचना बगाएपछि वैकल्पिक स्थानबाट नियमित स्वास्थ्य सेवा दिन थालिएको छ। क्षतिग्रस्त स्वास्थ्य संस्थाबाट सेवा दिन सक्ने अवस्था नभएकाले पायक पर्ने अन्य स्वास्थ्य संस्थाबाट नागरिकलाई सेवा दिइरहेको उनले जानकारी दिइन्।

सडक सम्पर्क विच्छेद भएका स्थानमा आवश्यकताअनुसार पालैपालो स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन्। त्यसैगरी मातृशिशु तथा प्रसूति सेवा प्रदान गर्न जनस्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जटिलताका आधारमा बिरामीलाई अन्यत्र रेफर गर्ने व्यवस्था मिलाएको श्रेष्ठले बताइन्। जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकोप्टरमार्फत प्रसूति सेवा तथा अन्य जटिल स्वास्थ्य समस्याका बिरामीलाई उपचारका लागि अन्यत्र पठाउने गरिएको छ। ‘सामान्य प्रसूति जिल्ला अस्पतालमै हुन्छ भने जटिल प्रसूति सेवाका लागि हेलिकोप्टरमार्फत काठमाडौं रेफर गरिएको छ,’ उनले भनिन्।

श्रेष्ठका अनुसार होल्डिङ सेन्टर तथा अस्थायी टहरामा बसेका बाढी प्रभावितलाई पनि विभिन्न स्वास्थ्य शिविरमार्फत सेवा दिइँदै आएको छ। उनीहरूले नजिकका सरकारी अस्पतालबाट समेत सेवा लिइरहेका छन्। थप उपचार आवश्यक परे रेफरल कागजातका आधारमा माथिल्लो तहका अस्पतालमा पठाएर नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। बाढीलगत्तै गैरसरकारी संस्थामार्फत सुरु गरिएका स्वास्थ्य सेवा पनि जारी जारी छ। ‘विश्व स्वास्थ्य संगठनले तीन महिनाका लागि तीनजना चिकित्सक पठाएको छ। उहाँहरूले अहिले पनि सेवा दिइरहनुभएको छ,’ उनले भनिन्।

श्रेष्ठका अनुसार स्वास्थ्य शिविरमार्फत सामान्य स्वास्थ्य सेवाका साथै मानसिक स्वास्थ्य सेवा पनि प्रदान भइरहेको छ। उनका अनुसार अहिले बाढी प्रभावित नागरिकमा जीविकोपार्जन कसरी गर्ने भन्ने विषयले तनाव बढाएको पाइएको छ।

तिहारपछि भत्किएका स्वास्थ्य संस्था पुनर्निर्माणका लागि जग्गा पहिचान गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी छ। उनले जिल्लामा आवश्यक स्वास्थ्य सामग्री आपूर्ति भइरहेको जानकारी पनि दिइन्।

नुवाकोटमा भने नियमित स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत डा. अञ्जु कार्कीले जानकारी दिइन्। उनका अनुसार जिल्लामा बाढीका केही दिनपछि स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। बाढीलगत्तै होल्डिङ सेन्टर तथा रसुवाको उत्तरगया गाउँपालिकामा स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गरिएको थियो। आयुर्वेद तथा त्रिशूली अस्पतालबाट पनि बाढी प्रभावितलाई नि:शुल्क सेवा दिइएको थियो। अहिले जिल्लाका सबै स्थानमा नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको उनले बताइन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य सेवा, खोप कार्यक्रम, झाडापखालाविरुद्धको खोपलगायत अन्य स्वास्थ्य सेवा वैकल्पिक स्थानबाट नियमित रूपमा प्रदान भइरहेको जानकारी दिए।