क्षमताभन्दा झन्डै पाँच गुणा बढी बालबिज्याइँकर्ता राखिएको विराटनगरस्थित बालसुधार गृहबाट गाँजा, मोबाइल र सुर्तीजन्य पदार्थ बरामद भएपछि त्यहाँको सुरक्षा व्यवस्था र निगरानीमाथि प्रश्न उठेको छ। सुरक्षाकर्मी परिचालन हुँदाहुँदै प्रतिबन्धित सामग्री सुधार गृहभित्र भेटिनुले ती सामग्री कसरी भित्र पुग्छन् भन्ने गम्भीर प्रश्न खडा गरेको छ।
विराटनगर महानगरपालिका–३ स्थित बालसुधार गृहमा सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगर (क) को संयुक्त टोलीले छापा मारेको थियो। करिब ४० जना प्रहरीको टोलीले तीन घण्टासम्म सञ्चालन गरेको खोजतलासका क्रममा गाँजाको सानो पोका, छ थान मोबाइल र सुर्तीजन्य पदार्थ फेला पारेको हो।
छापापछि सुधार गृहभित्र लागुऔषध कसरी पुग्यो भन्ने प्रश्न उठेको छ। मोबाइल प्रयोगमा प्रतिबन्ध भए पनि बालबिज्याइँकर्ताले लुकिछिपी मोबाइल चलाउने गरेको समेत खुलेको छ। सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले प्रशासनले नियमित रूपमा गर्दै आएको जाँचका क्रममा बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल बरामद भएको जानकारी दिए।
सुधार गृहको सुरक्षाका लागि नेपाल प्रहरीका एक जना असईको नेतृत्वमा ११ जना प्रहरी खटिएका छन्। यति धेरै सुरक्षाकर्मी परिचालन हुँदासमेत गाँजा र मोबाइलजस्ता प्रतिबन्धित सामग्री भेटिनुले सुरक्षा जाँच र निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ। बालबिज्याइँकर्ताका आफन्तले सुरक्षाकर्मीको आँखा छलेर ती सामग्री भित्र पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
बालसुधार गृहमा क्षमताभन्दा निकै बढी बालबिज्याइँकर्ता राखिएका छन्। ५० जनाको क्षमता भएको ब्लकमा १९३ जना छन्। त्यस्तै, मोरङ कारागारभित्र रहेको अर्को ब्लकमा १८ वर्ष उमेर नाघेका तथा उच्छृङ्खल गतिविधिमा संलग्न बालबिज्याइँकर्तालाई राखिएको छ। उक्त ब्लकमा ६२ जना छन्। दुवै ब्लकमा गरी सोमबारसम्म २५५ जना बालबिज्याइँकर्ता रहेका छन्।
क्षमताभन्दा झन्डै पाँच गुणा बढी बालबिज्याइँकर्ता राखिँदा भीड व्यवस्थापन र सुरक्षा निगरानी थप चुनौतीपूर्ण बनेको छ। सीमित संरचनामा ठूलो संख्यामा बालबिज्याइँकर्ता राख्नुपर्दा उनीहरूको व्यवस्थापन, निगरानी तथा सुधार र पुनःस्थापनासम्बन्धी गतिविधि सञ्चालनमा समेत कठिनाइ हुन सक्ने देखिन्छ।
यसअघि पनि मोरङ कारागारभित्र रहेका बालबिज्याइँकर्तालाई भेट्न जाने क्रममा दुई युवतीको साथबाट लागुऔषध बरामद भएको थियो। कारागारको मुख्य प्रवेशद्वारमा शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको थियो।
लगातार यस्ता घटना सार्वजनिक हुनुले बालसुधार गृह र कारागारभित्र प्रतिबन्धित सामग्री प्रवेश रोक्न अपनाइएका सुरक्षा उपायको प्रभावकारितामाथि थप प्रश्न उठाएको छ। सुधार र पुनःस्थापनाको उद्देश्यले सञ्चालित संस्थाभित्र लागुऔषध तथा मोबाइलको पहुँच नियन्त्रण गर्न प्रवेशद्वारको निगरानी, नियमित जाँच र समग्र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया