भारतको उत्तर प्रदेशस्थित झाँसीमा मुसालाई बाँधेर जिउँदै जलाएको आरोपमा चार जना पक्राउ परेका छन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा जुनैद कुरेशी, जीशान कुरेशी, आसिफ कुरेशी र शफिक रहेका छन्। प्रहरीले उनीहरूविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा ३२५ अन्तर्गत मुद्दा दर्ता गरेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा चार जनाले मुसालाई डोरीले बाँधेर ल्याएको र त्यसपछि ज्वलनशील पदार्थ खन्याएर आगो लगाएको देखिन्छ।
प्रहरीले भिडियोको अनुसन्धान गर्दा घटना झाँसीको ओरछा गेट क्षेत्रको भएको पत्ता लगाएको थियो। त्यसपछि भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान गरी चारै जनालाई पक्राउ गरिएको हो।
प्रहरी अधिकारी प्रिया सिंहले सामाजिक सञ्जालमार्फत जिउँदो मुसामाथि ज्वलनशील पदार्थ खन्याएर जलाइएको भिडियो आफ्नो जानकारीमा आएको बताइन्। भिडियोबारे जानकारी पाएलगत्तै सम्बन्धित प्रहरी चौकीमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको उनको भनाइ छ।
घटनाको भिडियो सार्वजनिक भएपछि जनावरमाथि क्रूर व्यवहार गरेको भन्दै आलोचना गरिएको छ।

प्रतिक्रिया