विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सामाजिक सञ्जालमा एक प्रयोगकर्तालाई दिएको जवाफलाई लिएर विवादमा परेका छन्।

विवादमा परेपछि उनले आफ्नो अभिव्यक्ति वास्तविक छुरासँग सम्बन्धित नभइ मनको कपटीपनतर्फ सङ्केत गरेको बताउँदै स्पष्टीकरण दिएका छन्। उनले आफ्नो अभिव्यक्तिको अनर्थ लगाइको बताएका छन्।

मन्त्री पुनले बिचौलिया भनिएका इनम सापकोटाका बारेमा लेखेको फेसबुक पोस्टमा दुर्गा कार्की नामका प्रयोगकर्ताले मन्त्रीलाई लक्षित गर्दै कमेन्ट गरेका थिए। कार्कीले उक्त कमेन्टमा ‘सेम तपाईँ जस्तै हो हेर्दाखेरि सोझो देखिने भित्रभित्र छुरा बोकेर हिँड्ने’ भन्दै लेखेका थिए।

त्यसको जवाफमा मन्त्री पुनले ‘यता आउ छुरा हेर्ने भए भित्रको’ भन्दै रिप्लाई दिएका थिए। उनको यही जवाफलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

स्पष्टीकरणमा पुनले आफूले साँच्चिकै फलामको छुरा बोकेर हिँडेको भन्न नखोजेको बताएका छन्। उनले ‘भित्रको छुरा’ भन्नाले मानिसको मनमा हुने कपटीपनलाई सङ्केत गरिएको बताएका छन्।

‘दुर्गा कार्की भाइले मलाई लगाएको आरोप- हेर्दा खेरी सोझो देखिने भित्रभित्रै छुरा बोकेर हिँड्ने। मेरो जवाफ – यता आउ छुरा हेर्ने भए भित्रको। अब सुन्नुहोस – कुनै पनि मान्छेले भित्रभित्रै बोकेर हिड़ने खतरानक छुरा भनेको उसको कपटी र पापी मन हो। दुर्गा भाईले मैले साँच्चीकैको फलामे छुरा बोकेर हिँडेको भनेको होइन। उनले मेरो मन कपटी छ भनेको हो। त्यहि मेरो मन (भित्री छुरा) कपटी छ कि छैन भनेर हेर्न आउ र मैले नढाँटीकन विस्तार पूर्वक भनेर तिम्रो चित्त बुझाउने प्रयास गर्नेछु भनेर सोझै भनेको हो। सोझो मान्छेको सोझो कुरा यहि हो,’ उनले स्पष्टीकरण दिँदै आफ्नो बचाउ गरेका छन्।