अप्टिकल फाइबरको तार काटिएपछि बाजुरा जिल्लाभर बिहीबार बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपाल दूरसञ्चार कार्यालय बाजुराका अनुसार साँफे-मार्तडी सडकखण्ड अन्तर्गत पर्ने नुनेपानीमा उच्च गतिको फाइबरको तार काटिँदा जिल्लामा सञ्चार सेवा ठप्प भएको हो।

नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले मुख्य लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदह गाउँपालिकाको आटिचौरबाट वैकल्पिक लाइन जोडेर आंशिक सेवा सञ्चालन गरिएको जानकारी दिए।

अवरुद्ध भएको फाइबर मर्मत गरी सेवा नियमित बनाउनका लागि प्राविधिक टोली घटनास्थलमा खटिइसकेको कार्यालय प्रमुख सिंहले बताए।

दिनभर सञ्चार सेवा अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह, बैंकिङ कारोबारका साथै आम सर्वसाधारणको दैनिकी नराम्रोसँग प्रभावित भएको छ।