निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच व्यक्तिगत घटना दर्ताको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण गर्ने सम्बन्धमा समझदारी भएको छ।
मतदाता नामावली अद्यावधिक एवं विवरण प्रमाणीकरण गर्ने कार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्नो व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण सुरक्षित प्राविधिक माध्यमबाट निर्वाचन आयोगलाई उपलब्ध गराउनेछ। आयोगले ती विवरण मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरणका लागि उपयोग गर्नेछ।
समझदारी कार्यान्वयनका क्रममा विवरणको सुरक्षित आदानप्रदान, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि आवश्यक प्राविधिक प्रणाली विकास गरिनेछ भने कार्यान्वयनका क्रममा उत्पन्न हुने प्राविधिक विषय सम्बोधन गर्न दुवै पक्षका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ।
यस व्यवस्थाबाट मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने निर्वाचन आयोगले विश्वास लिएको छ। साथै, मतदाता नामावलीमा शुद्धता कायम गर्न र निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको उपयोगलाई सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव राजेन्द्रकुमार केसी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक कृष्ण पौडेलले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया