बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव सम्बन्धमा प्रमुख राजमार्गहरुमा प्रारम्भिक पहिरो जोखिम आंकलन तथा पूर्वसूचना जारी गरेको हो।

सूचनामा चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी केही दिनमा नेपालको विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा भई राजमार्गको क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने देखिएको भन्दै हुन सक्ने सम्भावित पहिरोजन्य जोखिमसम्बन्धी आंकलन गरिएको उल्लेख छ।

सूचनाअनुसार पहाडी तथा भिरालो भू–बनोट भएका राजमार्ग खण्डहरूमा पहिरो खस्ने, ढुङ्गा खस्ने–झर्ने र सडक भासिने सम्भावना छ।

नदी किनारका सडक खण्डहरूमा नदीको जलसतह बढेर बाढी तथा कटानको जोखिम हुने सम्भावना छ।

पहिरो र बाढीका कारण सडक अवरुद्ध हुँदा यातायात सञ्चालन तथा अत्यावश्यक वस्तुको ढुवानीमा असर पर्न सक्ने सम्भावना छ।

सानाठूला खहरे खोला तथा कल्भर्टमा पानीको बहाव बढेर सडक क्षति हुने सम्भावना रहेको उल्लेख छ।

यसैगरी सूचनामा जोखिममा रहन सक्ने प्रमुख राजमार्ग खण्डहरू उल्लेख गरिएको छ।

चक्रवात ‘अर्नब’को प्रभावले नारायणगढ–मुग्लिन सडक खण्ड (त्रिशूली र नारायणी नदी किनार), कोशी राजमार्ग तथा सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक खण्ड र अन्य पहिरोको इतिहास भएका तथा नदी किनारका राजमार्ग खण्डहरू जोखिममा रहेको उल्लेख छ।

सूचनामा बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।