खेतभरि झुलेको धान भित्र्याउने तर्खरमा रहेका किसान यतिबेला निकै चिन्तित छन्। समुद्री चक्रवात ‘अर्नब’ को प्रभाव र पश्चिमी वायुको टकरावका कारण बिहीबार साँझदेखि नै मुलुकभर भारी वर्षाको पूर्वानुमान गरिएपछि पाकेको धान कसरी जोगाउने भन्ने चिन्ताले किसानहरूको निद्रा हराएको छ।

अहिले बाँकेका खजुरा, राप्तीसोनारी, डुडुवा र कोहलपुर क्षेत्रका खेतहरूमा धान पाकेर पहेँलपुर भइसकेको छ। कतिपय किसानले धान काटेर खेतमै सुकाएका छन् भने कतिपयको काट्ने तयारी छ। यस्तो संवेदनशील समयमा मौसम बिग्रिने खबरले किसानहरूमा त्रास फैलिएको छ।

खेतमा पाकेको धान काट्न मजदुर लगाइसकेका राप्तीसोनारीका स्थानीय किसान रामचरण थारूले मौसमको खबर सुनेपछि चिन्ता पोखे। ‘खेतको धान सबै पाकिसक्यो, काटौं भने पानी पर्ने डर, नकाटौं भने खेतमै ढलेर कुहिने चिन्ता छ,’ उनले भने, ‘बर्खाभरि दुःख गरेर फलाएको अन्न भित्र्याउने बेलामा हुरीबतास र पानी आयो भने हाम्रो त बिचल्ली हुन्छ।’

खजुराका अर्का किसान मानबहादुर डाँगीको समस्या झन् फरक छ। उनले दुई दिनअघि मात्रै दुई बिघाको धान काटेर खेतमै सुकाएका छन्। ‘मौसम सफा होला र थ्रेसिङ गरौंला भनेर काटेको, अहिले आजैदेखि पानी पर्छ भन्छन्’, डाँगीले पिरोलिँदै भने, ‘ट्र्याक्टर र थ्रेसरवालालाई गुहारिरहेको छु, आज साँझसम्म घर भित्र्याउन सकिएन भने त वर्षभरि खाने अन्न खेतमै कुहिन्छ।’

डुडुवाकी महिला किसान शान्तिदेवी यादव पनि आकाशतिर हेर्दै मन अमिलो पारिरहेकी छन्। ‘श्रीमान् र छोराहरू बिहानैदेखि खेतमा खटिएका छन्, अलिअलि काटेको धानलाई पालले छोपेर राख्ने तयारी गर्दैछौं’, उनले आफ्नो बाध्यता सुनाइन्, ‘सरकारले धान नकाट्न त भन्यो तर पाकेको धान धेरै दिन छाड्दा चरामुसाले खाएर र झरेरै नष्ट हुने डर हुन्छ। प्रकृतिले पनि हामी गरिब किसानलाई नै खेद्ने रहेछ।’

कोहलपुरका किसान कृष्ण खत्रीले भने मेसिनको अभाव र मौसमको मार एकै पटक खेप्नुपरेको बताए। ‘यसपालि धान राम्रो उत्पादन हुने आश थियो तर ठ्याक्कै भित्र्याउने बेला मौसम बिग्रियो, ‘खत्रीले भने, ‘हार्भेस्टर मेसिन पाउनै मुस्किल छ, हातले काटेर भ्याइँदैन। पानी परिहाल्यो भने धानको दाना कालो हुने र बजारमा मूल्य नै नपाइने जोखिम हुन्छ।’

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै गए पनि यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुको न्यूनचापीय रेखाबीच हुने अन्तरक्रियाले नेपालमा भारी वर्षा गराउन सक्छ।

विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको ३६ घण्टा लुम्बिनी, गण्डकी र कोसी प्रदेशका धेरै जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने मौसमविद्हरूको भनाइ छ। हिमाली क्षेत्रमा त विभागले रेड अलर्ट नै जारी राखेको छ, जसले तराईका जिल्लाहरूमा पनि चिसो र वर्षाको जोखिम बढाएको छ।

धानबालीमा हुन सक्ने यो सम्भावित ठूलो क्षतिलाई मध्यनजर गर्दै सरकार तथा कृषि विकास कार्यालय बाँकेले किसानका लागि विशेष अपिल र जरुरी सूचना जारी गरेको छ। सरकारले पानी पर्ने स्पष्ट संकेत देखिएकाले अहिले खेतमा धान काट्ने काम पूर्ण रूपमा रोक्न र कात्तिक १५ गते (शनिबार) पछि मौसम सफा भएपछि मात्र कटानी सुरु गर्न विशेष अनुरोध गरेको छ।

यसैगरी खेतमा काटेर सुकाउन छाडिएको धान छ भने बिहीबार साँझ पर्नुअघि नै थ्रेसिङ गरेर घर भित्र्याउन वा प्लास्टिक र पालले दरो गरी छोपेर सुरक्षित एवं अग्लो स्थानमा राख्न कृषि प्राविधिकहरूले आग्रह गरेका छन्।

वर्षाको पानी जमेर धान र पराल दुवै कुहिने जोखिम हुने भएकाले किसानहरूलाई आ–आफ्नो खेतका कान्ला र नालाहरू सफा राखी पानी सहजै बगेर जाने व्यवस्था मिलाउन समेत सरकारले अपिल गरेको छ।

यस वर्ष बाँकेमा ३३ हजार ७८० हेक्टरदेखि ३५ हजार हेक्टर जमिनमा धान खेती गरिएको र अनुकूल मौसमका कारण उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर भित्र्याउने समयमा आएको यो मौसमी चुनौतीले गर्दा किसान अन्नबाली जोगाउने अन्तिम युद्धमा होमिएका छन्।

सरकारले स्थानीय तहहरूलाई पनि मौसमी आपतकालीन तयारी अवस्थामा रहन र किसानलाई आवश्यक सहयोग पुर्‍याउन निर्देशन दिएको छ। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा धान काट्न सुरु भएको छ। बाँकेमा ३० प्रतिशतभन्दा कम मात्र धान भित्र्याइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखा र कृषि प्राविधिकहरूका अनुसार कटानीको संवेदनशील समयमा मौसम बिग्रिँदा धानबालीमा अपूरणीय प्राविधिक र आर्थिक क्षति पुग्ने गर्दछ। हावाहुरीसहित आउने वर्षाले खेतमा पाकेर झुलिरहेको धानको बोट भुइँमा ढाली दिन्छ र खेतमा पानी जम्यो भने डुबेका धानका बालाहरू खेतमै कुहिएर कालो हुन थाल्छन्।

यसैगरी धेरैजसो किसानले काटेर सुकाउन खेतमै छाडेको धान लामो समय पानीले भिज्यो र घाम लागेन भने खेतमै उम्रिन थाल्छ, जसका कारण त्यस्तो धान पछि चामल बनाउन पूर्णरूपमा अयोग्य हुन्छ र बजारमा यसको मूल्य शून्य हुने किसान बताउँछन्। किसानका अनुसार ढिलो गरी हुने वर्षाले आगामी वर्षका लागि आवश्यक पर्ने उन्नत जातको बिउ धानको गुणस्तरसमेत सखाप पारिदिन्छ।

धानबालीमा हुने यस्तो विनाशले देशको कुल गार्हस्थ्य उत्पादनमा धक्का पु¥याउने मात्र नभई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने किसान परिवारको जीवनलाई नै भताभुंग पारिदिने कृषि अर्थशास्त्रीहरू बताउँछन्।

विशेष गरी साना र सीमान्तकृत किसानहरूका लागि वर्षभरि आफ्नो परिवार पाल्ने खाद्यान्नको मुख्य स्रोत नै धानबाली हुने भएकाले खेतमै अन्न सड्दा उनीहरूको घरमा सिधै खाद्य संकट र भोकमरीको स्थिति पैदा हुन्छ।

तराईका ग्रामीण भेगमा धान बेचेर आउने आम्दानीबाट हिउँदमा छोराछोरीको विद्यालयको शुल्क तिर्ने, घरको मर्मतसम्भार गर्ने र औषधिउपचार गर्ने जस्ता महत्त्वपूर्ण पारिवारिक योजना बुनेका किसान बाली नष्ट भएसँगै गहिरो मानसिक तनाव र कृषि पेसाप्रति नै चरम निराशामा डुब्ने गरेका छन्।

हालैका मौसमी जोखिम र चक्रवातको प्रभावलाई मध्यनजर गर्दै कृषि मन्त्रालयले किसानलाई मौसम पूर्णरूपमा सफा नभएसम्म धान नकाट्न र नकाटिएको धानलाई सुरक्षित राख्न विशेष अपिलसमेत जारी गरेको छ।

सरकारले देशका विभिन्न भूभागमा बिहीबारदेखि वर्षा र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै देशभरका किसानलाई पाकेको धानबाली जोगाउन विशेष अपिल जारी गरेका छन्। लुम्बिनी, गण्डकी र कोसी प्रदेशका धेरै जिल्लामा भारी वर्षाको जोखिम रहेकाले सरकारले आपतकालीन सतर्कता अपनाउन आग्रह गरेको हो।

स्थानीय सरकारहरूले पनि अपिल जारी गर्दै पानी पर्ने स्पष्ट संकेत र जोखिम देखिएकाले खेतमा पाकेको धान काट्ने काम तत्कालका लागि पूर्णरूपमा रोक्न र कात्तिक १५ गते शनिबार मौसम सफा भएपछि मात्र कटानी सुरु गर्न विशेष अनुरोध गरिएका छन्।