आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले आफ्नो पालिकामा जित्न चाहनेहरूले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्ने बताएका छन्। उनले मौलापुरमा आठ वर्षदेखि जनताबाट कर नलिइ विभिन्न सेवा निःशुल्क उपलब्ध गराउने काम भइरहेको दाबी गर्दै चर्चा गर्नुपर्ने बताएका हुन्।
साहले मौलापुर नगरपालिकामा बिजुली र पानी निःशुल्क उपलब्ध गराइएको, शिक्षामा ४० प्रतिशत बजेट विनियोजन गरिएको तथा महिला र दलितमैत्री कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। उनले मौलापुरको विकास मोडललाई देशभर परिचित गराउनुपर्नेमा जोड दिएका छन्।
साहका अनुसार मौलापुर नगरपालिकाले जनताबाट कर नलिई आठ वर्षदेखि विभिन्न काम गर्दै आएको छ। उनले बिजुली र पानीजस्ता आधारभूत सुविधा निःशुल्क उपलब्ध गराउने व्यवस्था मौलापुरको विशेषता भएको बताए।
उनले अन्य ठाउँमा पानीको ट्यांकी सञ्चालन गर्दा प्रयोग हुने बिजुलीको बिलसमेत तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मौलापुरमा भने यस्तो खर्च जनताले बेहोर्नु नपर्ने दाबी गरे।
‘आफ्नो पालिकामा जित्न चाहनुहुन्छ भने मौलापुरको चर्चा गर्नुस्,’ साहले एक कार्यक्रममा बोल्दै भनेका छन्, ‘आठ वर्षदेखि जनताबाट कर नलिई कसरी काम गर्न सकिन्छ भन्ने कुरा संसारलाई बताउनुपर्छ।’
साहले मौलापुर नगरपालिकाले शिक्षामा ४० प्रतिशत बजेट छुट्याएको र एसईई परीक्षामा ९५ प्रतिशत नतिजा हासिल गरेको दाबी गरेका छन्। उनका अनुसार देशभरको एसईई नतिजा ५५ देखि ६५ प्रतिशतको हाराहारीमा रहँदा मौलापुरको नतिजा ९५ प्रतिशत पुगेको छ।
उनले नगरपालिकाले नगर प्रहरीभन्दा शिक्षक व्यवस्थापनलाई प्राथमिकता दिएको बताए। मधेस प्रदेशका विद्यालयहरूमा विषयगत शिक्षकको अभाव रहेको उल्लेख गर्दै उनले मौलापुरले आफ्नै स्रोतबाट शिक्षक व्यवस्थापन गर्ने प्रयास गरेको बताए।
साहका अनुसार नगरपालिकामा स्मार्ट बोर्ड, इन्टरनेट र सूचना प्रविधिको प्रयोग गरी पठनपाठन गरिँदै आएको छ। शिक्षालाई देशको विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै उनले मौलापुरले यस क्षेत्रमा प्राथमिकता दिएको बताए।
उनले शिक्षाका लागि १५० भन्दा बढी कक्षाकोठा निर्माण गरिएको र ११ देखि १२ बिघा जग्गा खरिद गरी नयाँ विद्यालयहरू निर्माण गरिएको पनि दाबी गरे।
यस्तै, साहले मौलापुर नगरपालिकालाई महिलामैत्री स्थानीय तहको नमुनाका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार नगरपालिकाले छात्राहरूलाई साइकल र ल्यापटप वितरण गर्ने, स्यानिटरी प्याड उपलब्ध गराउने तथा निःशुल्क शिक्षाको व्यवस्था गर्ने काम गरेको छ।
त्यसैगरी, विवाहका अवसरमा प्रत्येक घरलाई २० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए। आर्थिक अवस्था धनी वा गरिब जे भए पनि सबैलाई समान रूपमा सुविधा उपलब्ध गराउने गरिएको उनको भनाइ छ।
साहले महिलाको सम्मान र शिक्षामा पहुँच बढाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मौलापुरको उदाहरण अन्य स्थानीय तहमा पनि चर्चा गर्नुपर्ने बताए।
साथै, अध्यक्ष साहले मौलापुरमा दलित समुदायका लागि छाना भएका घर निर्माण गर्नुका साथै व्यवस्थित बस्ती विकासमा जोड दिइएको बताएका छन्। उनले बस्तीमा घर निर्माणसँगै पानी, बिजुली, नाला र सडकजस्ता आधारभूत पूर्वाधार उपलब्ध गराउने प्रयास गरिएको पनि जिकिर गरे।
उनले विभिन्न सरकारी आवास कार्यक्रम सञ्चालनमा रहे पनि कतिपय स्थानमा घर बने पनि नाला, पानी, सडक र ढलानजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको टिप्पणी गरे।
मौलापुरमा भने आवास निर्माणसँगै बस्तीलाई व्यवस्थित बनाउने प्रयास गरिएको उनको दाबी छ।

प्रतिक्रिया