उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता एकतर्फी रूपमा भङ्ग गरिएको दाबी गरेका छन्। उनले यसलाई राजनीतिक अपराध र बेइमानी भने।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै घिसिङले रास्वपा नेतृत्वले षड्यन्त्रपूर्वक सहमति लत्याएको बताएका हुन्।
रास्वपा, जेनजी समूह र आफ्नो पार्टीबीच भएको एकताको सहमतिलाई रास्वपाले नै विनाकारण तोडेको उनले सुनाए।
‘हामी तीन जना बसेर एकताको सहमति गरेका थियौं। सहमति तीन जना बसेर गरेपछि छलफल पनि सँगै बसेर हुनुपर्थ्यो,’ घिसिङले भने, ‘तर पछि डिपी अर्यालजीले मलाई फोन गरेर आजैदेखि एकता भङ्ग भयो भन्नुभयो। किन एकता गरियो र किन भङ्ग भयो, त्यसको जवाफ उहाँहरूले आजसम्म दिन सक्नुभएको छैन।’
एकता भाँडिनुमा आफूले ठूलो पद मागेको भनी रास्वपाले बाहिर गलत भाष्य निर्माण गरेको भन्दै उनले आपत्ति जनाए।
‘मैले ठूलो पद मागेर बाहिरिएको भन्ने प्रचार पूर्णतः झूटो हो। मैले त मलाई कुनै पद चाहिँदैन, साधारण सदस्य भएरै बस्न तयार छु भनेको थिएँ,’ घिसिङले भने, ‘हामीले त पार्टीको समानुपातिक उम्मेदवारको सूचीसमेत त्याग गरेर गएका थियौं। हामी बाहिरिनुपर्ने कुनै कारण नै थिएन। त्यसरी सहमति लत्याउनु राजनीतिक अपराध नै हो।’
रास्वपाभित्रै आन्तरिक खटपट र विभाजन रहेको उल्लेख गर्दै उनले भने, ‘अहिले हामी रास्वपासँग मिसिने कुनै सम्भावना छैन। हामी आफ्नै एजेन्डा र रोडम्यापमा उज्यालो नेपाल पार्टीलाई देशभर विस्तार गरिरहेका छौं।’
पार्टी दर्ता भएको एक महिनामै अर्को चुनाव चिह्न (बाँसुरी) लिएर चुनाव लड्दासमेत समानुपातिकतर्फ करिब २ लाख मत पाउनु जनताको ठूलो विश्वास भएको उनले बताए।
सोही जनमतका आधारमा आगामी स्थानीय तह निर्वाचनमा रामेछापका आठवटै पालिका जित्ने गरी पार्टी अघि बढेको उनको भनाइ छ।
रास्वपाले संसद्मा दुई तिहाइ बहुमत पाए पनि जनतासँग गरेका वाचा भुलेको आरोप उनले लगाए। स्थानीय तह गैरदलीय बनाउने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने आफ्नै प्रतिबद्धताबाट रास्वपा पछि हटेको भन्दै उनले ‘उम्मेदवार क्लब’ खडा गरेर पार्टीले दलीय स्वार्थ मात्रै साँध्न खोजेको टिप्पणी गरे।

प्रतिक्रिया