निर्देशक राजु श्रेष्ठले आफ्नो निर्देशनमा चलचित्र ‘नौ डाँडा काटेर’ निर्माणको घोषणा गरेका छन्। कोजाग्रत पूर्णिमाको अवसर पारेर उनले चलचित्रको नाम सार्वजनिक गरेका हुन्।

​सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता अनिलकुमार बुढाथोकी रहेका छन् भने कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती हुन्। त्यस्तै, लाइन प्रोड्युसर सुरज कुमार छन्।

चलचित्रको कथा तथा पटकथा रङ्ग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाले तयार पार्दै छन्।

​चलचित्रका कलाकार, प्राविधिक टोली, छायांकन तालिका र प्रदर्शन मितिबारे भने निर्माण पक्षले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन।

हाल निर्देशक श्रेष्ठको अर्को चलचित्र ‘कंगाल करोडपति’ को छायांकन अन्तिम चरणमा छ। ‘कंगाल करोडपति’ को छायांकन पूरै भएपछि मात्रै ‘नौ डाँडा काटेर’ को निर्माण कार्य औपचारिक रूपमा अघि बढाइने निर्देशक श्रेष्ठले बताए।