अमेरिकी र्यापर निकी मिनाजलाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव बनाउनुपर्ने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरूले सामाजिक सञ्जालमा प्रस्ताव गरेका छन्।
ह्वाइट हाउसको प्रेस सचिव पदमा निकीको नाम अनौपचारिक रूपमा अघि सारिएपछि यसबारे चर्चा सुरु भएको हो।
निकीले एयर फोर्स वनमा ट्रम्पसँग यात्रा गर्दाको भिडियो सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। भिडियोमा उनले अमेरिकी राष्ट्रपतिको अन्तर्राष्ट्रिय नीतिको प्रशंसा गरेकी छन्। त्यसपछि ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले ‘महिला तथा सज्जनवृन्द, मलाई लाग्छ हामीले नयाँ ह्वाइट हाउस प्रेस सचिव फेला पारेका छौं’ भन्दै प्रतिक्रिया दिएका थिए।
ट्रम्पका सल्लाहकार एलेक्स ब्रुसेविट्जले पनि उक्त प्रस्तावलाई समर्थन गर्दै निकीका प्रशंसकलाई सम्बोधन गरे। ह्वाइट हाउसको आधिकारिक एक्स खाताले समेत आँखाको इमोजी राख्दै प्रतिक्रिया दिएको थियो। निकीले भने पसिनाले भिजेको अनुहार र अमेरिकी झन्डाको इमोजीमार्फत प्रतिक्रिया जनाएकी थिइन्।
यद्यपि, निकीलाई प्रेस सचिव बनाउने विषयमा ह्वाइट हाउसले कुनै औपचारिक निर्णय गरेको छैन। उनका नाममा आएका टिप्पणीहरूलाई अनौपचारिक प्रस्तावका रूपमा मात्र हेरिएको छ।
निकीको चर्चा यतिमै सीमित रहेन। उनी ट्रम्पसँगै मिशिगनको पोर्ट ह्युरोनमा आयोजित कार्यक्रममा पनि सहभागी भएकी थिइन्। कार्यक्रममा ट्रम्पले निकीको शारीरिक बनावटबारे टिप्पणी गर्दै उनको नितम्बको प्रशंसा गरेका थिए। उनले निकीलाई उठ्न आग्रह समेत गरेका थिए। ट्रम्पले यसअघि पनि सार्वजनिक कार्यक्रममा राजनीतिज्ञहरूको शारीरिक बनावटबारे यस्ता टिप्पणी गर्दै आएका छन्।
निकीले ट्रम्पसँग एयर फोर्स वनमा यात्रा गरेको अनुभवलाई सामाजिक सञ्जालमा भिडियोमार्फत साझा गरेकी थिइन्। विमानको भित्री भाग देखेर आफू आश्चर्यचकित भएको उनको भिडियोमा देखिन्छ। त्यसपछि ह्वाइट हाउसका कर्मचारीले उनलाई प्रेस सचिव बनाउनुपर्ने भन्दै गरेको टिप्पणीले थप चर्चा पाएको हो।

प्रतिक्रिया