ओपनर अभिषेक शर्माको ३५ बलको विष्फोटक शतकको मद्दतले भारत न्युजिल्यान्डविरुद्धको तेस्रो टी-२० खेलमा जितको औपचारिकता नजिक पुगेको छ।

जितका लागि पाएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १० ओभरमै २ विकेट गुमाएर १७८ रन बनाएको छ।

वेलिङ्टनमा जारी खेलमा भारतलाई जितका लागि अब अन्तिम ६० बलमा मात्र २१ रन आवश्यक छ। क्रिजमा सञ्जु सामसन ५ बलमा १ चौकासहित ८ रन बनाएर खेलिरहेका छन्।

मैदानमा चौका र छक्काको वर्षा गरेका अभिषेक शर्मा ३८ बलमा ९ चौका र ११ छक्कासहित ११३ रनको अविश्वसनीय इनिङ्स खेलेर दशौं ओभरको अन्तिम बलमा आउट भए।

२९७.३६ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले मात्र ३५ बलमा आफ्नो शतक पूरा गरेका थिए। उनी कायल जेमिसनको बलमा ग्लेन फिलिप्सद्वारा क्याच आउट भए।

यसअघि भारतले ७.१ ओभरमा १३३ रन जोड्दा पहिलो विकेटका रूपमा वैभव सूर्यवंशीलाई गुमाएको थियो।

अभिषेकसँग विष्फोटक ओपनिङ साझेदारी गरेका वैभवले १९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ४५ रन बनाए। उनलाई म्याथ्यु फिसरले ड्यारेल मिचेलको हातबाट क्याच गराएका थिए।

भारतीय ब्याट्सम्यानहरूको आक्रामक ब्याटिङसामु न्युजिल्यान्डका बलरहरू पूर्णतः निरीह देखिएका छन्।

बलिङतर्फ ज्याकोब डफीले २ ओभरमा ४४, एडम मिल्नेले २ ओभरमा ३३ र माइकल ब्रेसवेलले २ ओभरमा ३६ रन खर्चिए।

कायल जेमिसनले २ ओभरमा ३६ रन दिएर १ विकेट, म्याथ्यु फिसरले १ ओभरमा २३ रन दिएर १ विकेट लिँदा कप्तान मिचेल स्यान्टनरले १ ओभरमा ६ रन दिएका छन्।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो।

कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको भारतीय टोली अब शृङ्खलाको यो खेल जित्नबाट केही रन मात्र टाढा छ।