ओपनर अभिषेक शर्माको विष्फोटक शतकको मद्दतले भारतले तेस्रो टी-२० खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।
न्युजिल्यान्डले प्रस्तुत गरेको १९९ रनको विशाल लक्ष्य भारतले ४० बल बाँकी छँदै मात्र १३.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
वेलिङ्टनस्थित मैदानमा भएको खेलमा भारतको जितको मुख्य नायक अभिषेक शर्मा रहे। उनले मात्र ३५ बलमै शतक पूरा गर्दै कुल ३८ बलमा ९ चौका र ११ छक्काको मद्दतले ११३ रनको आँधीबेहरी इनिङ्स खेले। उनलाई कायल जेमिसनले ग्लेन फिलिप्सको हातबाट क्याच आउट गराएका थिए।
यसअघि अभिषेक र अर्का युवा ओपनर वैभव सूर्यवंशीले पहिलो विकेटका लागि मात्र ७.१ ओभरमा १३३ रनको विष्फोटक साझेदारी गर्दै खेल भारतको पक्षमा पारेका थिए।
वैभवले मात्र १९ बल खेल्दै ४ चौका र ४ छक्कासहित ४५ रनको योगदान दिए। उनी म्याथ्यु फिसरको बलमा ड्यारेल मिचेलद्वारा क्याच आउट भए।
मध्यक्रममा सञ्जु सामसनले १३ बलमा १८ रन बनाए भने कप्तान श्रेयस अय्यर १० बलमा ५ रन जोडेर मिचेल स्यान्टनरको बलमा आउट भए। अन्त्यमा तिलक वर्मा १ रन र नमन धिर १ बलमा १ चौकासहित ४ रनमा अविजित रहँदै टोलीलाई जितको रेखा पार गराए।
न्युजिल्यान्डका बलरहरू भारतीय ब्याट्सम्यानसामु निकै महँगा साबित भए। बलिङतर्फ कायल जेमिसनले ३.२ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए।
कप्तान मिचेल स्यान्टनरले किफायती बलिङ गर्दै ३ ओभरमा १७ रन दिएर १ विकेट तथा म्याथ्यु फिसरले १ विकेट लिए। ज्याकोब डफीले २ ओभरमा ४४, माइकल ब्रेसवेलले २ ओभरमा ३६ र एडम मिल्नेले २ ओभरमा ३३ रन खर्चिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९८ रनको योगफल तयार पारेको थियो।
न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले ५२ बलमा ५ चौका र ५ छक्कासहित अविजित ८९ रनको उत्कृष्ट पारी खेले। यस्तै, फिन एलेनले २५ बलमा ५ छक्कासहित ४० र बेभोन ज्याकोब्सले २३ बलमा अविजित ३९ रन जोडेका थिए। ग्लेन फिलिप्स १७ र टिम सेफर्ट २ रनमा पेभेलियन फर्किएका थिए।
भारतका लागि बलिङमा अर्शदीप सिंह, अक्षर पटेल र नितिश कुमार रेड्डीले १-१ विकेट हात पारेका थिए।

प्रतिक्रिया