अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) मा लगानी बढाउँदै ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव गरेको छ।

कम्पनीका अनुसार विश्वभरका कुल कर्मचारीको करिब २७ प्रतिशत यस प्रस्तावका लागि योग्य छन्। कम्पनीकी प्रमुख मानव संसाधन अधिकृत एमी कोलम्यानले सोमबार ब्लगमार्फत क्यानडा, भारत, बेलायत र अमेरिकाका योग्य कर्मचारीले यो प्रस्ताव लिन सक्ने बताएकी छन्। उनका अनुसार माइक्रोसफ्टका लागि स्वैच्छिक रूपमा जागिर छाड्ने यस्तो कार्यक्रम नयाँ हो।

‘हामी यसबाट सिक्नेछौं। कर्मचारीलाई महत्त्वपूर्ण काममा ध्यान दिन, नयाँ सीप सिक्न र कम्पनीभित्रै अन्य अवसर खोज्न पनि सहयोग गरिरहनेछौं,’ कोलम्यानले लेखेकी छन्। गत जुनको अन्त्यसम्म माइक्रोसफ्टमा करिब दुई लाख २३ हजार स्थायी कर्मचारी थिए। कम्पनीले बुधबार त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

माइक्रोसफ्टले यसअघि पनि कर्मचारी कटौती गर्दै आएको थियो। गत मेमा कम्पनीले अमेरिकामा करिब ८ हजार ७५० कर्मचारीलाई स्वैच्छिक अवकाश दिने योजना बनाएको थियो। त्यसैगरी, जुलाईमा करिब चार हजार ८०० पद कटौती गर्ने घोषणा गरेको थियो। तीमध्ये भिडियो गेम व्यवसाय एक्सबक्सका कर्मचारी पनि थिए।

पछिल्लो समय एआई प्रविधि सञ्चालन गर्न आवश्यक डेटा सेन्टरमा प्रविधि कम्पनीहरूले ठुलो लगानी गरिरहेका छन्। यसले मेमोरी चिप, कम्प्युटर प्रोसेसर, अन्य उपकरण र विद्युत्को माग बढाएको छ। एआई क्षेत्रमा बढ्दो खर्चका बिच माइक्रोसफ्टले कर्मचारी व्यवस्थापनमा नयाँ रणनीति अपनाएको देखिन्छ।

कम्पनीले आफ्नो एआई क्षमता विस्तार गर्न केही वर्षदेखि काम गर्दै आएको छ। सन् २०२४ मा माइक्रोसफ्टले एआई सुविधासहितका नयाँ कम्प्युटर सार्वजनिक गरेको थियो। ती कम्प्युटरमा कम्पनीको एआई सहायक कोपाइलटलाई विन्डोज अपरेटिङ सिस्टमसँग जोडिएको छ।

सन् २०२५ अक्टोबरमा कम्पनीले कोपाइलटका लागि ‘माइको’ नामको एआई पात्र पनि सार्वजनिक गरेको थियो।