सोलुखुम्बुस्थित आमा दब्लम हिमालबाट ओर्लने क्रममा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ।
आइतबार हिमालको शिखरमा पुगेका उनी फर्कने क्रममा दुर्घटनामा परेका थिए।
रियल हिमालय प्रालिका प्रमुख गोकुल थापाका अनुसार ६ हजार ८१४ मिटर अग्लो हिमालको शिखरबाट ओर्लने क्रममा आरोही करिब एक हजार ५०० मिटर तल खसेका थिए। उनको सोमबार मृत्यु भएको थापाले बताए।
आरोहीको शव सोमबार नै खोजी टोलीले फेला पारेको थियो। थापाका अनुसार शव हेलिकप्टरमार्फत काठमाडौं ल्याएर पोस्टमार्टम गरिनेछ।
सगरमाथा रहेको सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल नेपाली तथा विदेशी आरोहीहरूमाझ लोकप्रिय छ। चालु शरद ऋतुको आरोहण मौसममा यस हिमाल चढ्न ३०० भन्दा बढी आरोहीले अनुमति लिएका छन्।
गत साता पश्चिम नेपालको अर्को हिमालमा दुई जापानी आरोहीको पनि मृत्यु भएको थियो। एजेन्सी

प्रतिक्रिया