शनिबार राति गाईघाटस्थित पिपलचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। राति ९ः०५ बजेको समयमा स्कुटरको ठक्करले गम्भीर घाइते भएका ५२ वर्षीय रामबहादुर कार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

त्रियुगा नगरपालिका-११ सङ्गमटोलस्थित इनारचोकबाट गाईघाट बजारतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ४८२२ नं. को स्कुटरले पिपलचोकनेर ठक्कर दिँदा गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पताल गाईघाटमा उपचारकै क्रममा मृत्यु भएको हो।

उनलाई चिकित्सकले ९ः५५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका-११, ढिम्कीका अन्दाजी २३ वर्षीय दिलीप केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक विष्णु खड्काले बताएका छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भएका कार्की गाईघाटमा होटल व्यवसाय गर्दै आएको जनाइएको छ।