फ्रान्समा शिक्षा क्षेत्रमा बजेट अभाव, बढ्दो महँगी र आर्थिक असमानताविरुद्ध शनिबार भएको प्रदर्शनमा देशभर चार लाख १० हजार मानिस सहभागी भएको सरकारले जनाएको छ।
प्रदर्शनका क्रममा पेरिससहित विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले झन्डै एक हजार जनालाई पक्राउ गरेको गृहमन्त्री लोरेँ नुनेजले बताएका छन्। पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने उनले बताए। मन्त्रालयका अनुसार पेरिसमा मात्रै एक लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। तर सीजीटी ट्रेड युनियनले देशभर झन्डै ८ लाख मानिस सडकमा उत्रिएको दाबी गरेको छ।
सरकारले प्रदर्शन नियन्त्रण गर्न देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो। सुरक्षाकर्मीलाई सहयोग गर्न हेलिकप्टर, बख्तरबन्द गाडी र पानीको फोहोरा प्रहार गर्ने सवारीसाधनसमेत तयारी अवस्थामा राखिएको थियो।
पेरिसमा प्रदर्शन सुरुमा शान्तिपूर्ण रहे पनि अन्त्यतिर स्थिति तनावपूर्ण बनेको थियो। केही नकाबधारी प्रदर्शनकारीले प्रहरीतर्फ बोतल, ढुंगा र पटाका फ्याँकेपछि प्रहरीले अश्रुग्यास, ध्वनि ग्रेनेड र पानीको फोहोरा प्रयोग गरेको थियो। राजधानीबाहेक लियोन, बोर्डो, मार्सेली, लिल, टुलुज, नान्टेस र क्लेरमोन्ट-फेरान्डलगायत सहरमा पनि झडप भएको थियो। गृहमन्त्री नुनेजका अनुसार झडपका क्रममा दुई जना गम्भीर घाइते भएका छन्।
यसैबीच, प्रहरीले प्रदर्शनका क्रममा पटाका, गुलेली, धातुका गोली र अन्य हतियारसमेत बरामद गरेको जनाएको छ।
एक साताअघि भएको प्रदर्शनका क्रममा फ्रान्सभरि करिब तीन हजार पसलमा क्षति पुगेको वा लुटपाट भएको थियो। सार्वजनिक भवनमा तोडफोड र सवारीसाधनमा आगजनीसमेत भएपछि सरकारले यसपटक कडा सुरक्षा व्यवस्था अपनाएको हो। पेरिसका लुभ्र, ओर्से र पिकासो संग्रहालयसहित प्रमुख सांस्कृतिक स्थल बन्द गरिए। आर्ट बासेल कला मेलाको सप्ताहान्त कार्यक्रम पनि रद्द गरियो।
विद्यालयबाट सुरु भएको आन्दोलन देशभर फैलियो
यो आन्दोलन गत महिना पेरिसनजिकैको क्रेतेई सहरको एक माध्यमिक विद्यालयमा कर्मचारी अभावको विरोधबाट सुरु भएको थियो। त्यसपछि विद्यालयमा पर्याप्त बजेट, शिक्षकको संख्या बढाउनुपर्ने र जीर्ण शैक्षिक संरचना मर्मत गर्नुपर्ने मागसहित विद्यार्थी सडकमा उत्रिएका थिए। विस्तारै यसमा श्रमिक र ट्रेड युनियनसमेत जोडिएपछि आन्दोलनको दायरा फराकिलो बनेको हो।
विद्यार्थी संगठनले उच्च शिक्षामा थप दुई लाख ५० हजार स्थान उपलब्ध गराउन, विश्वविद्यालय भर्ना प्रणाली सुधार गर्न र मासिक छात्रवृत्तिमा २०० युरो थप्न माग गरेका छन्। सार्वजनिक विद्यार्थी आवासको भाडा स्थिर राख्नुपर्ने माग पनि उनीहरूको छ। विद्यालय तथा विश्वविद्यालयमा शिक्षक र कर्मचारीको संख्या बढाउनुपर्ने मागसमेत उठाइएको छ।
आन्दोलनको अर्को प्रमुख कारण बढ्दो जीवनयापन खर्च हो। ऊर्जा मूल्य र दैनिक उपभोग्य वस्तुको महँगीले सर्वसाधारणमाथि आर्थिक दबाब बढाएको छ। प्रदर्शनकारीले रोजगारीको अभाव, न्यून आय र आर्थिक असमानताप्रति पनि असन्तुष्टि जनाएका छन्।
निर्वाचनअघि म्याक्रोंमाथि दबाब
राष्ट्रपति इमानुएल म्याक्रोंको कार्यकालको अन्तिम महिनामा आन्दोलन चर्किएपछि सरकारमाथि दबाब बढेको छ। आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनअघि बढेको असन्तुष्टिले देशको राजनीतिक वातावरणलाई समेत प्रभावित पारेको छ।
दक्षिणपन्थी नेता मरीन ले पेनको नेसनल र्याली पार्टीले ओर्लियन्स सहरमा गरेको सम्मेलनमा पनि हजारौं मानिसले प्रदर्शन गरेका थिए। अर्कोतर्फ, वामपन्थी नेता जाँ-लुक मेलान्सो पेरिसको प्रदर्शनमा सहभागी भएका थिए। उनले आन्दोलन हरेक साता दोहोरिन सक्ने बताएका छन्।
सरकारले सार्वजनिक सम्पत्ति र व्यवसायको सुरक्षा गर्न प्रदर्शनमाथि केही प्रतिबन्ध लगाएको छ। तर ट्रेड युनियनहरूले यस्ता प्रतिबन्धले नागरिकको विरोध गर्ने अधिकार सीमित गरेको भन्दै आलोचना गरेका छन्। विद्यार्थी र श्रमिकले भने आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिक्रिया