अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको सम्झौतापछि रूसी डिजेल बोकेको ट्यांकर अमेरिकातर्फ अघि बढेको छ।

जहाज ट्र्याकिङसम्बन्धी विवरणअनुसार ट्यांकरमा करिब तीन लाख ब्यारेल अर्थात् ४० हजार मेट्रिक टन डिजेल छ। यो ट्यांकर नोभेम्बर ७ मा न्यूयोर्क पुग्ने अनुमान गरिएको छ।

माल्टाको झण्डामुनि सञ्चालन हुने उक्त ट्यांकरले अक्टोबर २२ मा रूसको बाल्टिक सागरस्थित प्रिमोर्स्क बन्दरगाहबाट डिजेल लोड गरेको थियो। यो ढुवानी सफल भएमा सन् २०२३ को जुलाईपछि अमेरिकामा हुने पहिलो रूसी डिजेल आपूर्ति हुनेछ। यद्यपि, जहाजको अन्तिम गन्तव्य र कारोबारमा संलग्न खरिदकर्ता तथा विक्रेताबारे पूर्ण विवरण सार्वजनिक भएको छैन।

रूसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकका अनुसार पहिलो खेपमा ४० हजार टन डिजेल पठाइएको छ। ट्रम्पले अक्टोबर ९ मा रूसले तत्काल तीन लाख मेट्रिक टन डिजेल अमेरिका र अन्तर्राष्ट्रिय बजारमा पठाउने बताएका थिए। त्यसपछि थप पाँच लाख टन र त्यसलगत्तै १० लाख टन पठाउने योजना पनि सार्वजनिक गरिएको थियो।

ट्रम्पले अमेरिकामा बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयासस्वरूप यो सम्झौता गरेका हुन्। आगामी मध्यावधि चुनावअघि इन्धनको मूल्य घटाउने उनको प्रयासका रूपमा यसलाई हेरिएको छ। तर ऊर्जा क्षेत्रका विज्ञहरूले पहिलो खेपको परिमाण अमेरिकाको दैनिक डिजेल खपतको तुलनामा निकै सानो भएकाले यसले इन्धनको मूल्यमा ठूलो प्रभाव पार्ने सम्भावना कम रहेको बताएका छन्।

रूसबाट डिजेल आयात गर्ने निर्णयले युक्रेनमा भने असन्तुष्टि बढाएको छ। रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि अमेरिकाले रूसी तेल तथा पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लगाएको थियो। नयाँ सम्झौताअनुसार रूसी डिजेल अमेरिकी बजारमा भित्रिने भएपछि उक्त नीतिबारे बहस सुरु भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको निर्णयलाई ‘शक्तिशाली साझेदारहरूको कमजोर निर्णय’ भनेका छन्। युक्रेनले रूसमाथि थप प्रतिबन्ध लगाउन र युद्धका लागि आवश्यक आम्दानी रोक्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्दै आएको छ। अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका केही नेताले पनि सम्झौताले रूसलाई आर्थिक फाइदा पुर्‍याउन सक्ने भन्दै आलोचना गरेका छन्।

यसैबिच, रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरेका ड्रोन आक्रमणका कारण रूसको डिजेल उत्पादनमा दबाब परेको छ। ती आक्रमणले केही समय इन्धन अभावसमेत निम्त्याएको थियो। ट्रम्पले युक्रेनलाई रूसी प्रशोधन केन्द्रमाथिका आक्रमण रोक्न आग्रह गरेका थिए। नयाँ सम्झौताले रूसी डिजेल निर्यात बढाउने अपेक्षा गरिए पनि आगामी ढुवानीको परिमाण र समयतालिका थप कारोबारमा निर्भर रहनेछ। एजेन्सी