आज दिनको सुरुवात नै कति रमाइलो लागेको हो? सधैंको कचकचबाट मुक्त भएपछि पाएको शान्तिझैं लागिरहेको छ। लामो समयको क्रान्तिको फल पाए जस्तो। आमा समूहले टोलका सबै महिलालाई भारत भ्रमणमा लगेपछि टोल नै स्वर्गझैं भएको छ।

हैन त छोरा?

खै, श्याम बा ! मलाई त आमासँगै बसिरहन पाए पनि हुन्थ्यो जस्तो हुन्छ। तिमी सानै छौ, अलि ठुलो हुनु अनि बुझ्नेछौ। यी छोरी मान्छेहरू कति बोझ हुन्छन् हाम्रा लागि।

हो र बा !

हो त ! १० दिनकै लागि भए पनि जीवन आनन्द अनि सहज हुने भयो। १० दिनमा त घटस्थापना छ, हामीले नचाहे पनि घर फर्किन्छन्।

यसै संवादसँग सुगन्ध टोलको जीवन आजदेखि केही फरक गतिमा चल्न थाल्यो। हरेक घरको आँगन बढारिँदै थियो, आँगन बढार्ने सबै पुरुष थिए। कोही घर पुछ्दै थिए त कोही तुलसीको मोठअघि घण्टी बजाउँदै। उनीहरू एक अर्कालाई प्रफुल्ल नजरले हेर्दै पनि थिए। मानौं तिनले कुनै लडाइँ जितेर आएका छन्। दिनहुँ यही कार्यलाई सामान्य ठान्नेहरू आज यही कर्ममा आफैं योद्धाले जस्तै खटिनु परेकाले होला। टोलभरिका पुरुष साह्रै फुर्तिला हुन थाले। सरसफाइदेखि भान्सासम्म र आफ्नो जागिर, व्यवसाय सबै जोसजाँगरसाथ सम्हाल्न थाले। यसरी नै चलिरहेको थियो तर अब भने भाँडावर्तनले गफ गर्न थाले। अस्तिसम्म मौन थिए, हिजो गफ गर्न सुरु गरे आजसम्म आइपुग्दा घमासान लडाइँमा उत्रिएका छन्। एउटा घरमा थाल फालिँदै थियो, अर्को घरमा कचौरा, डाडु, पन्यु आदि आँगनतिर डुल्न आइपुगिसकेका थिए।

भाँडावर्तन बाझेका होलान् भनेको त बा, छोरा, काका–भतिजा एकअर्कासँग खाना बनाउने पालो आफ्नो मात्रै आयो भन्दै कुर्लिरहेका थिए। केही तीन दिन लगातार मैले खाना बनाउनुपर्‍यो भन्दै थिए। कोही झाडु मेरै मात्र भागमा पर्‍यो र कामबाट आएपछि थकिन्छ यति पनि बुझ्दैनौ भन्दै झन्किरहेका थिए। घर त सफा गरिदिएको भए हुनेथियो नि कम्तीमा भन्दै गुनासो पोखिरहेका थिए। भोजमा मेरो साटो तिमी गइदिएर हुन्थ्यो र ? भन्दै प्रतिवाद पनि गरिरहेका थिए। टोलमा यस्ता गुनासा पहिले हुन्थे तर सुनिदिने कसले ? घरको इज्जत जाला भनेर केही महिलाहरू आफैंभित्र गुम्सिरहेका हुन्थे। त्यहाँबाट पर पुगे भने कानेखुसी गरेर चित्त बुझाउन बाध्य हुन्थे।

पुरुषहरू बसी बियालो गर्दा हर घरका भाँडावर्तनको भन्दा पनि चौतारोमा मुख बंग्याइबंग्याई खिसीट्युरी गर्नमा व्यस्त हुन्थे। मच्चीमच्ची गरेको गफले भोकले पेटमा मुसा कुदुन्जेलसम्म समय बितेको पत्तो पाउँदैनथे। यही क्रममा अनेकौं प्रसंग उठे, छलफल भए, कोही सेलाए त केही जुर्मुराए।

आजकाल भने दसैंको रौनकले होला दसैंको रूपरेखा चित्रण हुन थालेको छ, यो टोलमा। टोलभरिका सबै पुरुषको एउटै आवाज थियो, ‘परम्परा जोगिए अस्तित्व जोगिन्छ’। चाड भनेको भोज मात्र नभई हाम्रो पहिचान हो। हाम्रा बाजेबराजुदेखि बासम्मले परम्परा धान्दै आएका छन्। हामीले पनि धानेर जस्ताको त्यस्तै अघि बढाउनुपर्छ।

‘ठिक हो, मलाई त कुरा एकदम ठिक लाग्यो’ भएमध्येका एक पाकाले भने।

टोलमा महिलाहरू नभएपछि नौं दिनसम्ममा, भाँडावर्तनको गफ सामान्य हुँदै गएको थियो। सायद कुचो पनि थाकेछन् क्यार ! सुगन्ध टोलको फोहोरलाई स्वागत गर्न पर्खिंदै एउटा कुनामा सुतिरहेका थिए। सेता सर्ट पनि अब खैरो हुनु त सामान्य भइसकेको थियो। आइरन नलगाएकाले मुजा परेर नयाँ ‘स्टायल’ पो हो कि झैं देखिन थालेको थियो। नयाँ ‘स्टायल’ नभनियोस् पनि किन ? सबैको उस्तै देखिन्थ्यो। खाना बनाउने, घर बढार्ने, लुगा धुनेलगायतका काम गर्ने समयको तारतम्य मिलाउन नसक्दा प्रायः सबैको तलब काटिने अवस्था आइसकेको थियो किनभने उनीहरू कहिले पनि समयमा कार्यालय पुग्न सकिरहेका थिएनन्। यी झिनामसिना लाग्ने काम अहिले चौतारोको प्रमुख प्रसंग बन्न थालिसकेको थियो। उनीहरूबीच हुने गफगाफ कहिले घम्साघम्सीमा परिणत हुन्थ्यो जुन सुगन्ध टोलको कथा बनिरहेको थियो।

मैले खुसुक्क सुनें– श्यामलाई आफ्नी आमा, श्रीमती र छोरीको अनुपस्थितिले कोतर्न थालिसकेको थियो।

आज १०औं दिन टोलको रौनक फेरिन लागेको थियो किनभने त्यसदिन भ्रमण सकेर सबै महिला फर्किने भएका थिए। टोलको हरेक घरमा सूचना आउन थाल्यो, भारतमा भीषण वर्षाका कारण अनिश्चित कालका लागि विमान सेवा बन्द भएको छ।

अब भ्रमणमा गएका महिलाहरू अझ केही दिन त्यहीं रहने भए। वास्तवमा यो सूचना मात्र थिएन पुरुषहरूको दैनिकी प्रभावित हुने खबर थियो। टोलमा महिला रित्तिँदा खुसी हुने पुरुषहरू आज फर्किने दिन अझै लम्बिँदा निराश भएका थिए।

आज घटस्थापना, सबै आआफ्नो घरमा दसैं भिœयाउन तयार छन्। पहिलो चाड महिलाको अनुपस्थितिमा कसरी बित्ला ? सबैको मनमा काँडा बिझेझैं भएको थियो। कहाँ रंगीबिरंगी वस्त्र लगाएर, हँसिलो मुहारसहित सूर्य उदाउनुअघि बिँउझिने र चन्द्रमालाई आधि रात जिम्मा दिएर, ऐया पनि नभनी सबै चाडपर्वको किनमेल, सरसफाइ, भोज भतेर सबै मिलाउने महिला भएको घटस्थापना, कहाँ हामी कट्टु र भित्री गन्जी लगाएर, ठुलाठुला गफको गुम्फनमा अलमलिएका पुरुष। मनमनै भनिरहेका थिए सब चकनाचुर भयो।

के भनेर गुनगुनाउनु भएको बा ? श्यामले आफ्नो बालाई जमरा राखिरहेको बेला सोधे। कुरा फेर्दै भने– जमरा राख्न मेसो पाइनँ श्याम। घण्टी पनि बजाइनजस्तो लाग्यो। हिजो तैंले र नातिले लेराएको माटोमा पनि ढुंगा धेरै रहेछ, सगुन पनि कता चढाउने हो ? म त साह्रै अलमलिएँ श्याम यसपालि। ‘मैले चाल पाएदेखि त सधैं जमरा तपाईंले नै राख्ने होइन र बा ?’

पूजा मैले गरे पनि, जमरा मैले राखे पनि यसका लागि सबथोक मिलाइदिने, ल्याइदिने त तेरी आमाले गर्थिन्। उनी डोर्‍याउँथिनँ, म डोरिन्थें तर सधैं धाक भने मेरै ठुलो हुन्थ्यो। घटस्थापना यसै गफगाफ, अल्झाइ र पिउनुमा बित्यो। सुगन्ध टोल फेरि पुरुषहरूले मात्र चलाउन थाले। अब त धेरैजसो पुरुष टोलमै देखिन थाले। ढिलो चाँडो सबैले कामबाट बिदा पाउन थाले। बिस्तारै गोपीको किराना पसल फेरि भरिन थालेछ।

पोहोर साल श्यामकी छोरीले भन्थी– बा, दसैंको बेलामा गोपी काकाको किराना पसलमा त सबै केटाहरू मात्रै आउने रहेछन्। राजनीति, राष्ट्र, खै यस्तै यस्तै केके कुरा गर्ने रहेछन्। नबुझे पनि सुनिरहुँ जस्तो। बेलाबेला नाथे छोरी मान्छे भन्दै हाम्रै खेदो पनि गर्ने रहेछन्, म त उठेर आएँ। साल फेरियो, गोपी दाइको किराना पसलमा हुने भिड फेरिएन। भिडको गफ भने फेरियो। घरमा कामको चाप बढ्न थाल्यो। यी महिलाहरू कहिले आइपुग्लान् खै ! भन्दै पुरुषहरू लामा लामा सुस्केरा तानिरहेका हुन्थे।

दसैं पिङ खेल्ने बाहाना, हरेक खेलमैदानमा पिङ, दसैं त त्यही पिङमा आउने। सानादेखि ठुलासम्म सबै त्यहीं थुप्रिन्छन्, साना पिङ खेल्छन् त ठुला तास। जे होस् दसैंले सुगन्ध टोलमा जीवन ल्याएको छ।

खुसुक्क कान नजिकै गएर, तास खेल्दै गरेका श्यामको साथीले अर्का करिब ४५–५० वर्षका साथीलाई श्यामको छोरालाई देखाँउदै भन्छ, पोहोर सालसम्म त पिङ खेल्न श्यामकी छोरी पनि आउँथी, पिङ खेलाउने बहानामा उसको १७ वर्षीय कोमल शरीर छामछुम गर्दै उसको शरीरमा डुल्न पाउँदा स्वर्गीय आनन्द हुन्थ्यो। यसपालि त छोरो मात्रै आएको छ, महिला समूहले पनि साह्रै दुःख दिए हामीलाई।

बोली नसक्दै अर्का साथी जुरुक्क उठेर भने– आ ! छोरा होस् कि छोरी मलाई त फरक पर्दैन भनी श्यामको १४ वर्षे छोरालाई पिङ खेलाउने बाहानामा ब्वाँसोले जसरी हातैहातले चाख्न थाल्छ। ऊ चुपचाप घर फर्किन्छ। सानो स्वरमा श्याम कहाँ गएर भन्छ, बा मलाई त तपाईंको तास खेल्ने साथीले पिङ खेल्ने बेला खै कस्तो नराम्रो लाग्ने गरी छामछुम गरे।

के भन्छ मोरो ! तेरी दिदीलाई पनि त वर्षौँदेखि उनीहरूले नै त पिङ खेलाउने हो। खै अहिलेसम्म केही भनेकी छैन। नानी त ढपक्क शरीर ढाकिने गरी कपडा लगाएर जान्थी। तँ भित्री गन्जी र कट्टु लगाएर गइस्। झुक्किएर छोइयो जस्तो लाग्यो होला। मलाई त भनिहाल्यौ, अरूलाई यस्तो हावादारी कुरा नसुनाउनु। लाज हुन्छ। मेरा सम्बन्धहरू बिग्रिन्छन्।

बरु जाउ त भोलि फूलपाती छ। पूजाको थाली अनि पकाउने भाँडाहरू सबै माझ। आज त दिदीको साह्रै कमी महसुस भयो, दिदी हुँदा सबै काम उहाँले नै गर्नुहुन्थ्यो। म आरामसँग खेल्न पाउथेँ भन्दै भुतभुताउँदै भाँडा माझ्न थाल्छ। भाँडाको हल्लामा उसको शरीरले सुनाउन बिर्सियाे।

भोलि आयो। पारा हिजो–आज कै। सबै अलमलिएका। मन्दिर पनि एकछिन जमात हेरेर हाँस्दो हो तर दाजुभाइहरूले पूजा मुहारमा हाँसो लिएरै गरे। बाटोमा सबै जना एक अर्कालाई दसैंको शुभकामना आदानप्रदान गर्दै, आआफ्नो घर भोजमा बोलाउँदै थिए।

श्याम पनि आफ्नो छोरासँग घर पुगे। अघिको हँसिलो मुहार एकाएक निराश देखियो। श्यामको बा, श्याम अनि श्यामको छोरा सबैजना घरको महिलाहरूलाई सम्झिँदै थिए। लक्ष्मी नभएको घर साह्रै उजाड–उजाड हुने। घर मात्रै के भन्नु टोल नै रित्तो महसुस हुने।

यसपालि त दसैंको तीन दिन रमेशको भट्टीमा चर्कोसँग लागेछ। केराको पातमा भोज खाने, कुछी भ्वय बनाउने, पूजापाठ गर्ने, खै, सबै त्यतै भट्टीमा रक्सीको मातमा तासको खातमा बिछ्याएछन्। एउटा फाइदा भने सबै इष्टमित्र त्यहीं भट्टीमा भेटिने, घरमा बोलाएर सत्कार गर्न नपर्ने। चाडपर्व भनेको खान कै लागि आएको त हो। रमेशको भट्टीमा खान पनि पाइने,रमाइलो पनि हुने अझ इष्टमित्र पनि सबै यहीँ भेटिने। परम्परा भनेको आफूले जस्तो बनायो त्यस्तै हुने त हो भनेर हिजोका चौताराका जमातले आज रमेशको भट्टीमा ठुल्ठूला स्वरमा भन्न थाले।

उता महिलाहरू भने साह्रै आत्तिएका थिए। यत्रो दिन के कसरी घर चलाएका होलान्, नखाएर कतै दुब्लाए कि ? भान्सा खासै पसेका पनि थिएनन्, बरु सरसफाइ नगरून् तर भोको पेट नबसून्। सुन्दा कुनै बालकको चिन्ता गरे जस्तो सुनिन्छ तर चिन्ता बालकको मात्रै होइन हरेक उमेरका पुरुषको थियो।

तीन दिनसम्म विमान पर्खिएका महिला अब रेलबाट भएपनि फर्कने भए। त्यहीं एक जना भरपर्दो देखिने नेपाली केटो भेटे। रेलको टिकट मिलाइदिन्छु भनेर सबैसँग पैसा लिएका उनले दसैंको समयमा टिकट पाउन अलिगाह्रो हुन्छ दुई तीन दिनसम्म लाग्न सक्छ भनेर आश्वासन दिए। तीन दिन बित्यो, चार दिन बित्यो, अब न नेपाली केटो भेटियो न रेलको टिकट। पुर्पुरो समाएर बस्नुबाहेक उपाय भेटेनन्, घरमा भनूँ गाली खाइन्छ। अर्को पटक घरबाट टाढा नपठाउलान्, कतै जाऊँ अत्तोपत्तो छैन। पिर थपिँदो थियो।

त्यसदिन कमलालाई आफ्नो विद्यावारिधिको महत्त्व कुनै कौडीमा बेचिने रित्तो रक्सीको बोतलभन्दा बढी लागेन। हेर्दा रङ्गिन, सुन्दर मन नै लोभ्याउने तर खोक्रो। विवाह नहुँदा बाको डर, विवाहपछि श्रीमानको डर। यो ४५ वर्षको जीवन बाँच्दासम्म लक्ष्मण रेखा नाघेर निस्केको भए पो, आज घर फर्कन सक्थेँ।

महिलाहरूले अन्तिम प्रयास गर्दै घर फर्कने बस समाते। पैसा नपुगेर केहीले गहना पनि बेचे। दसैंको समय भएकाले जसरी भए पनि सबैलाई घर फर्कनु थियो। बसमा पालैपालो बस्दै उभिँदै आफ्नो घरतर्फको यात्रा सुरु गरे।त्यस यात्रामा श्यामकी छोरीले नयाँ पाठ सिकी। उसको शरीरमा डुल्न आउने हात सुगन्ध टोलमा मात्र सीमित छैन अनि उसको मौनतामा मिस्सिएको सहनशीलताको पनि कुनै सीमा छैन।

आज विजयादशमी, नेपालीको महान् चाडको महान् दिन, टीकाको साइत दिउँसोको १ बजे। सुगन्ध टोलको दिन बिहान ९ बजेबाट विस्तारै सुरु हुन थाल्यो। हात रंगीन अबिर, सगुन, जमरामा भएपनि मन रङहीन थियो। सबैका नजर घरको गेटमा, केही चमत्कार भएर उनीहरूलाई रेलले ठाउँ मै पुर्याइदिएर आज गेटअघि उभिन आइपुग्छन् कि भन्ने आश।

आँखा टट्याए, उनीहरू अझै आइपुगेनन्। श्यामले पनि अब त मुखै खोलेर भन्यो, महिला हराएको चाड त साह्रै नरमाइलो अनि खोक्रो। भक्कानिएको मनले भावनाका शब्द पोखिसक्न नपाउँदै यसपालिको दसैं भट्टीमा मात्रै देख्न पाएको श्यामको छोराले आफ्नो अनुभव पोखिहाल्यो, यो महिला हराएको चाड हैन बा ! यो त महिलासँगै हराएको चाड हो।

अचानक गेटको घण्टी बज्छ, टीकाको दिन दिउँसोको १२ बजे। ए हजुर ! हामी हौं, ढोका खोल्नुहोस् त। आइपुग्यौं हामी। एकाएक सबै खुसी हुन थाले। सुगन्ध टोलको सुगन्ध फर्कियो, टोल नै रमायो। आज दशमीको दिन बल्ल सुगन्ध टोलमा दसैं आयो। श्याम हत्तारहत्तार खुसी हुँदै मनमनै आज बल्ल दसैंको भोज खान पाइने भयो भन्दै आफ्नी श्रीमती, आमा र छोरीलाई भान्सामा भित्र्याउन गेटसम्म लिन गयो।