पश्चिम पहाडी गाउँका सुनसान घर दसैंमा भरिए, बन्द ढोका खुले, चुलोम परिकार पाके, चौतारीमा जमघट बढ्यो, टीका, जमरासँगै आफन्तले भरिए आँगन पनि। रोजगारीका लागि स्वदेशसँगै विदेशका विभिन्न सहर पुगेका युवा दसैंको मेलोमा घर फर्किएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडमा विशेष रौनक देखियो। परदेशीसँगै चाडपर्वको उत्साह मात्रै फर्किएन, वृद्धवृद्धाका अनुहारमा हराएको खुसीसमेत फर्कियो।
लुम्बिनीका रोल्पा, रुकुमपूर्व, गुल्मी, प्युठान, अर्घाखाँची, कर्णालीका जाजरकोट, दैलेख, रुकुम, कालीकोट, सुदूरपश्चिमका बाजुरा, अछाम र डोटीका गाउँमा दसैंको रौनक बजारको चहलपहलभन्दा बढी घर फर्किएका आफन्तको उपस्थितिमा देखियो। वर्षौंदेखि परिवारसँग टाढिएर श्रम गरिरहेका युवाका लागि दसैं घर फर्किने अवसर बन्यो।
पश्चिम नेपालका पहाडी गाउँमा दसैं टीका, जमरा र खानपिनमा मात्र सीमित नभएको रुकुमका कर्णवीर खत्रीले बताए। ‘यो दसैं परदेश पुगेका सन्तान घर फर्किने, सम्बन्ध नवीकरण हुने र गाउँले जीवन केही दिनका लागि भए पनि पुरानै लयमा फर्किने अवसर हो’, उनले भने, ‘त्यसैले दाङ, अत्तरिया वा सुर्खेतबाट पहाडतर्फ लागेका बससँगै परिवारसँग पुनर्मिलनको आशा बोकेर फर्किरहेको पुस्ताको कथा पनि जोडिएको हुन्छ।’ उनका अनुसार सुनसान पहाड दसैंले ब्युँझिन्छन्।
भारतका मुम्बई, दिल्ली र पिथौरागढदेखि काठमाडौं तथा तराईका सहरसम्म रोजगारीका लागि पुगेका युवा दसैं मनाउन घर फर्किए। डोटीका रमेश खड्काले पाँच वर्षदेखि दिल्लीमा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका छन्।
दसैंमा घर आएका उनी भन्छन्, ‘मुम्बई र दिल्लीका गल्लीमा जतिसुकै पैसा कमाए पनि गाउँको दसैंजस्तो सुख मिल्दैन। जब बसले अत्तरिया काटेर पहाडको उकालो समात्छ तब संसारकै सबैभन्दा ठुलो खुसी यहीं छ जस्तो लाग्छ।’
रमेशको जस्तै यो अनुभूति पश्चिम नेपालका धेरै युवाले गरेका छन्। रोजगारीका लागि घर छाड्नुपर्ने बाध्यता उनीहरूको जीवनको हिस्सा बनेको छ। परिवारको खर्च धान्न र भविष्य सुरक्षित बनाउन परदेश हानिएका उनीहरूलाई दसैंले फेरि आफ्नो माटो, परिवार र बाल्यकाल बिताएको गाउँसँग जोड्ने अवसर दिन्छ। युवा रोजगारीका लागि बाहिरिएपछि कर्णाली र सुदूरपश्चिमका धेरै पहाडी गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र देखिन्छन्।
कतिपय घरमा ताला नै लाग्छ । कतिपय परिवारका सदस्य अलगअलग ठाउँमा बस्न बाध्य छन्। तर दसैं नजिकिँदै आउँदा गाउँको दृश्य फेरिन्छ । लामो समयदेखि नखोलिएका घरका ढोका खुल्छन्, आँगन र बाटोघाटो सफा गरिन्छ, भित्तामा रातो माटो र कमेरो लगाइन्छ। घर फर्किने सन्तानको स्वागतका लागि आमाबाबुले घरआँगन चिटिक्क पार्छन्।
अछामका चक्रबहादुर शाहीलाई पनि यस पटकको दसैं परिवारसँग भेट हुने विशेष अवसर बन्यो। छोराहरू रोजगारीका लागि भारत गएपछि गाउँको घर सुनसान बनेको उनको अनुभव छ। ‘छोराहरू कमाउन भारत पसेपछि घर सुनसान थियो। दसैं आयो, नातिनातिना र छोराहरू आँगनमा खेल्न थाले। बल्ल घर उज्यालो भएको महसुस भयो। परदेशी नआए त गाउँमा दसैं आएको पनि थाहा हुन्थेन’, उनले भने।
चक्रबहादुरको भनाइले पहाडी गाउँका धेरै परिवारको अवस्था झल्काउँछ। वृद्ध उमेरमा छोराछोरीको साथ र स्नेह खोजिरहेका अभिभावकका लागि दसैंले ठुलो खुसी दिलाउँछ।
उनीहरूका लागि छोराछोरीले ल्याएका उपहारभन्दा पनि केही दिन सँगै बस्न पाउनु, आफ्ना कुरा सुनाउन पाउनु र नातिनातिनासँग समय बिताउन पाउनु बढी महत्त्वपूर्ण हुन्छ।
दसैं आगमनसँगै गाउँका चौतारीमा पुराना साथीभाइ भेटिए। कतिपय ठाउँमा मादलका ताल सुनिए भने कतै परम्परागत देउडा खेलले गाउँको वातावरण रमाइलो बनायो। पिङमा बालबालिका र युवाको चहलपहल बढ्यो। परिवारका सदस्य एकै ठाउँमा भेला हुँदा घरघरमा पाकेका परिकार बाँड्ने र छिमेकीसँग भेटघाट गर्ने परम्पराले पनि निरन्तरता पायो।
यस पटक दसैंमा पश्चिम नेपालमा तीन लाखसम्म मानिस घर फर्किएको अनुमान छ। पश्चिम नेपालका पहाडी जिल्लाका करिब सात लाख मानिस रोजगारीका लागि भारतमा गएका छन्। जसमा ८० प्रतिशत युवा भएको अनुमान छ। कतिपय गाउँमा विगतमा जस्तो परदेशी नफर्किए पनि चाडपर्वको रौनकतामा कामी आएन।
परदेशीको आगमनले स्थानीय बजार र यातायात व्यवसाय समेत केही चलायमान बन्यो। घर फर्किनेले परिवारका लागि लत्ताकपडा, खाद्यान्न र अन्य सामग्री किनमेल गर्दा पसलमा कारोबार बढेको छ। गाउँमा हुने कुलपूजा, पारिवारिक जमघट र सांस्कृतिक गतिविधिले स्थानीय परम्परालाई निरन्तरता दिन सहयोग पुर्याएको छ।
केही दिनका लागि भए पनि गाउँमा युवाको उपस्थिति बढ्दा सामाजिक गतिविधि र सामूहिक भेटघाटले गति पायो। तर दसैंको यो खुसीसँगै एउटा यथार्थ पनि जोडिएको छ। चाड सकिएपछि घर फर्किएका धेरै युवा पुनः रोजगारीका लागि भारत र देशका विभिन्न सहरतर्फ लाग्नेछन्। केही दिन हाँसोले भरिएका आँगन फेरि सुनसान हुनेछन्।
यो अवस्थाले गाउँमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँछ। स्थानीय कृषि, पशुपालन, पर्यटन तथा साना उद्यमलाई प्रवर्द्धन गर्न सके रोजगारीका लागि बाध्य भएर गाउँ छाड्ने युवाको संख्या घटाउन सकिन्छ।
गाउँमा शिक्षा, स्वास्थ्य, यातायात र अन्य आधारभूत सेवा विस्तार गर्न सके परिवारसँगै बसेर जीवनयापन गर्ने सम्भावना पनि बढ्न सक्छ। दसैंमा गाउँ फर्किएका युवालाई वर्षभरि गाउँमै टिकाउने वातावरण बनाउन अब राज्यले अग्रसरता लिनुपर्छ।

प्रतिक्रिया