दशैं मनाउन घर गएका मानिसहरू राजधानी फर्किन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दशैंअघि सुनसान बनेका सडकमा सवारीसाधनको आवागमन बढेको छ भने बजार र बस्तीमा पनि जनजीवन विस्तारै सामान्य बन्दै गएको छ।
दशैंका लागि उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरिएपछि केही दिन काठमाडौंका सडक र बस्ती सुनसान बनेका थिए। सार्वजनिक सवारीसाधनको चाप घटेको थियो भने दैनिकजसो व्यस्त रहने सडकमा पनि आवागमन पातलिएको थियो। तर, दशैंको टीका सुरु भएसँगै आफन्तकहाँ आउजाउ गर्ने र गाउँबाट राजधानी फर्किने क्रम बढ्न थालेपछि सहरमा पुनः चहलपहल देखिन थालेको छ।
बुधबार विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम बिहीबार एकादशीमा पनि जारी छ। ठाउँ र पारिवारिक परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद लिने चलन छ। दशैंको टीका लगाएपछि कतिपयले राजधानी फर्किने तयारी गरेका छन् भने कतिपय फर्किसकेका छन्।
उपत्यकाका सडकमा मोटरसाइकल, निजी कार तथा अन्य सवारीसाधनको चाप बिस्तारै बढिरहेको छ। रिङरोडलगायत मुख्य सडकमा आवागमन बढेसँगै सहरको दैनिकी पनि पुरानै लयमा फर्किन थालेको छ। दशैं बिदामा गाउँ गएका कतिपय मानिस काममा फर्किन थालेका छन् भने व्यापारिक गतिविधि पनि क्रमशः बढ्ने क्रममा छन्।
यसपटक दशैंका बेला मौसम पनि खुलेको छ। घटस्थापनादेखि विजयादशमीसम्म अधिकांश दिन आकाश सफा रहँदा उपत्यकाको दृश्य आकर्षक देखिएको छ। नीलो आकाशमुनि रिङरोडमा गुडिरहेका सवारीसाधन, अग्ला भवन र पृष्ठभूमिमा देखिने हिउँले ढाकिएका हिमशृङ्खलाले काठमाडौंको सुन्दरता थपेका छन्।
दशैं मनाएर फर्किनेहरूको चहलपहल बढ्दै जाँदा सहरले विस्तारै आफ्नो व्यस्तता फर्काउँदै छ। चाडपर्वको रमझम, सडकमा बढ्दो आवागमन र खुलेको मौसमले काठमाडौं उपत्यकामा दशैंपछिको रौनक थपिएको छ।

प्रतिक्रिया