बुधबार साँझ जंगलबाट छिरेको स्यालले स्थानीयको पशु चौपाया टोकेर घाइते बनाएपछि सिंगो गाउँ आतंकित भएको छ।

एउटा वयस्क स्याल गाउँ पसेर त्रियुगा नगरपालिका २ खैजनपुरका दर्जन बढी पशु चौपाया टोकेर घाइते बनाएको हो।

वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)का अनुसार बुधबार साँझ ५ः०० बजेतिर एक्कासि सडकमा देखा परेको स्यालले अगाडि परेका गाई, भैँसी, पाडा, गोरु, बाख्रा, खसी जे भेट्यो त्यही टोकेर घाइते बनाएको छ।

मान्छे देख्दा पनि नडराई छोप्ने स्याल बाटै बाटो नहिँडेर जता पायो त्यतै लाग्ने, जे देख्यो त्यसैलाई झम्टिने टोक्ने गरेको वडाध्यक्ष खत्रीले बताए।

दसैँ टीकाको दिन परेकाले आफन्त र माइत मावली जानेहरूको आउजाउ बाक्लै हुँदा पनि स्याल नडराई बिझाईँ गर्दै हिँडेको देखेर सबै भागाभाग भएर टोकाइबाट भने बचेका छन्।

उनले घरछेउमै रहँदा आफैतिर आएको स्याल देखेर छोराले लाठीले हिर्काएपछि बल्ल अन्यत्र मोडिएकाले टोकाइबाट बचेको बताए। हिँड्दा अगाडि भेटिएका र सडक छेउछाउका घरधनीका गोठैभित्र पसेर पशु चौपाया टोक्दै हिँड्दै गरेको खत्रीले बताए।

स्वस्थ्य र वयस्क देखिने लगभग ३० किलोभन्दा बढी तौलको स्यालले खैजनपुरमा मात्र नभएर छिमेकी टोल सनुवा र आसपासका पशु चौपायालाई पनि टोकेर आतंक मच्चाएको उनले बताए।

स्थानीयले खैजनपुरका मात्र १५ वटा गाई, गोरु, राँगा भैँसी, बाख्रा खसी टोकेर घाइते बनाएको बताएका छन्। नदेखेको पनि थुप्रै पशु चौपायालाई टोकेको हुनसक्ने अनुमान उनीहरूको छ।

स्याल र अन्य कुनै पनि वन्यजन्तु हतपत गाउँ पस्ने गरेको घटना बिरलै छ। पसिहाले पनि मान्छे देखेर भाग्ने, डराउने गरेकोमा नडराई गर्दै हिँडेको स्याल निश्चय नै बहुलाएको अनुमान स्थानीयले गरेका छन्। बहुलाएरै यस्तो हर्कत गर्दै हिँडेको अनुमान गर्दै घाइते पशु चौपायालाई रेबिजविरुद्धको सुई दिन थालिएको छ।

घटना भएको २४ घण्टा नबित्दै वडा कार्यालयको पशु प्राविधिक बोलाएर बिहीबार बिहानदेखि घाइते पशु चौपायालाई रेबिजविरुद्धको सुई दिन थालिएको छ। साथै स्याल फेरि पनि गाउँ पस्न सक्ने जोखिमबाट बच्न नगरपालिका र प्रहरी प्रशासनसँग वडाध्यक्ष खत्रीले आग्रह गरेका छन्।

भुल्के र चुरे जंगलसँग जोडिएको खैजनपुरमा बेलाबेलामा जंगल हात्तीको समूह हिँड्ने गर्दा स्थानीयवासी त्रसित हुँदै आएका छन्। हात्तीको बथानले बालीनाली र घर टहरामा क्षति गर्ने गरेको थाहा पाएका स्थानीयवासी यस पटक स्याल पसेर आतंकित पारेकोमा चकित छन्।

स्याल गाउँ पसेर यस्तो बिझाईँ गरेको घटना जीवनमा पहिलो पटक देखेको स्थानीय काशी राईले बताए।