नेपालले डिसेम्बरमा ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने भएको छ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै आउँदो डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा प्रतियोगिता हुने जानकारी दिएका हुन्।
प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तालिकामा अन्तिम चार स्थानमा रहने टोलीहरू तथा ‘आईसीसी सीडब्ल्यूसी च्यालेन्ज लिग’ को समूह ‘ए’ र ‘बी’ बाट शीर्ष २–२ टोली गरी आठ टोली सहभागी हुनेछन्।
यस प्रतियोगिताका शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा संयुक्त रूपमा आयोजना हुने ५० ओभरको ‘आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट’का लागि छानिने क्यानले जनाएको छ।
घरेलु मैदानमै विश्वकप क्वालिफायर प्ले–अफ आयोजना हुने भएपछि यसअघि तय भएको नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको तालिका भने हेरफेर हुने भएको छ।
यसअघि डिसेम्बर ९, ११ र १३ मा तय भएको उक्त शृङ्खला भारतीय क्रिकेट नियन्त्रण बोर्ड र क्यानबीचको आपसी सहमतिमा नयाँ मिति तय गरिने सचिव खड्काले जानकारी दिए।

प्रतिक्रिया