राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले भारतमा पनि बंगलादेश र फ्रान्समा जस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन्। विश्वमा भारतलाई दबाउन चाहने शक्तिहरू रहेको उल्लेख गर्दै उनले ती शक्तिहरूको उद्देश्य सत्ता परिवर्तन गरेर अवस्था सुधार्नु नभई आफ्ना समर्थकलाई सत्तामा पुर्याउनु रहेको बताए।
भागवतले मंगलबार नागपुरस्थित संघ मुख्यालयमा आयोजित विजयादशमी उत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले केही मानिस भारत र हिन्दु समाजलाई विभाजित गर्न चाहेको र उनीहरूलाई केही नेताहरूको समेत समर्थन रहेको दाबी गरे।
आरएसएसले हरेक वर्ष विजयादशमीका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। सन् १९२५ मा यही दिन संघको स्थापना भएको थियो। कार्यक्रममा भागवतले शस्त्रपूजा पनि गरेका थिए।
आन्दोलनको उद्देश्य समाधान हुनुपर्छ, समाजमा विभाजन होइन
समस्याका कारण आन्दोलन हुने भए पनि त्यसको उद्देश्य समाधान हुनुपर्ने भागवतले बताए। समाजमा द्वेष र विभाजन सिर्जना गर्नु आन्दोलनको उद्देश्य हुन नहुने उनको भनाइ छ।
कतिपय अवस्थामा आन्दोलनलाई अन्य उद्देश्यका लागि प्रयोग गरिने र राजनीतिको साधन बनाइने उनले बताए। समाज र देशलाई नेताहरूले मात्रै सञ्चालन नगर्ने उल्लेख गर्दै उनले समाजको सक्रियताबाट पनि समस्याको समाधान सम्भव हुने बताए।
एकताको सूत्रमा बाँधिएर बसे कसैले केही बिगार्न सक्दैन
विश्वमा भारतलाई दबाउन चाहने शक्तिहरू रहेको भागवतले बताए। त्यस्ता शक्तिको प्रभावमा परेर उत्तेजित हुन नहुने उनको भनाइ छ।
उनले बेलायती शासक लर्ड कर्जनले हिन्दु–मुस्लिम आधारमा बंगाल विभाजन गरेको प्रसङ्ग उल्लेख गरे। चार वर्षपछि उक्त विभाजन फिर्ता लिनुपरेको उनले बताए।
तर, सन् १९४७ मा भारतको विभाजन रोक्न नसकिएको उल्लेख गर्दै उनले फरक देखिनेहरू अलग नै हुन् भन्ने धारणा मानिसहरूको मनमा विकसित भएकाले त्यसो भएको बताए।
हाम्रा पुर्खा एउटै हुन्, सबैलाई साथमा लिएर अघि बढ्नुपर्छ
हामी सबैका पुर्खा एउटै रहेको र संस्कृतिको मूल पनि एउटै भएको भागवतले बताए। कसैको छुट्टै पहिचान मेटाउनुको सट्टा सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
भारतको परम्परा र विचारमा विश्वका समस्याको समाधान दिन सक्ने क्षमता रहेको उनले बताए।
विकास हुनुपर्छ, तर प्रकृतिलाई क्षति पुर्याउनु हुँदैन
भागवतले नेपालको बाढीको उदाहरण दिँदै विकासका लागि प्रविधिलाई प्रोत्साहन गर्नु आवश्यक भए पनि त्यसबाट प्रकृतिलाई क्षति पुग्न नहुने बताए। अर्थतन्त्रसँगै पारिस्थितिक प्रणाली र नैतिकतालाई समेत ध्यानमा राखेर विकास गर्नुपर्ने उनको भनाइ थियो।
ओटीटीका लागि नियम बनाइयोस्, एआईको सही प्रयोग होस्
अहिले मानिसहरूले विभिन्न प्रकारका सूचना प्राप्त गरिरहेको उल्लेख गर्दै भागवतले सही र गलत नछुट्याई तिनको प्रयोग गर्दा नोक्सानी हुन सक्ने बताए।
ओटीटी (अनलाइन स्ट्रिमिङ) प्लेटफर्मका लागि नियम बनाउनुपर्ने र यस विषयमा सरकार तथा प्रशासनले ध्यान दिनुपर्ने उनको भनाइ थियो। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) को सही प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा इजरायली महावाणिज्यदूत पनि सहभागी
कार्यक्रममा भारतका पूर्वउपराष्ट्रपति जगदीप धनखड र उनकी पत्नी डा. सुदेश धनखड, इजरायलका महावाणिज्यदूत यानिभ रेभाच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस तथा केन्द्रीय मन्त्री नितिन गडकरी पनि उपस्थित थिए। एजेन्सी

प्रतिक्रिया