ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका पति नरेश भट्टविरुद्ध चलिरहेको मुद्दामा अभियोजन पक्षले शयनकक्षको कार्पेट र बाथरुममा देखिएका शंकास्पद दाग अदालतमा प्रस्तुत गरेको छ।

बिहीबारको सुनुवाइमा अनुसन्धानकर्ताले दम्पतीको शयनकक्षबाट निकालिएको करिब ८ बाइ १० फिटको कार्पेट अदालतमा देखाएका थिए। कार्पेटको तल्लो भागमा ठुलो रातो दाग देखिएको थियो। अनुसन्धानकर्ताले उक्त दाग रगत हुन सक्ने आशंका गरे पनि त्यसको पुष्टि भइसकेको छैन।

प्रिन्स विलियम काउन्टी प्रहरीका अनुसन्धानकर्ता जोसेफ रेस्टिनोले सन् २०२४ अगस्ट २२ मा भट्टको घरबाट प्रमाण संकलन गर्ने क्रममा कार्पेटको तल्लो भागमा रातो दाग देखेको बताए। ‘कार्पेट ओछ्याउँदै गर्दा हामीले ठुलो रातो दाग देख्यौँ,’ उनले भने।

अभियोजन पक्षले दागका तस्बिर देखाएपछि कार्पेटको वास्तविक टुक्रा पनि अदालतमा ल्याएको थियो। त्यसलाई नजिकबाट हेर्न निर्णायक (जुरी) मण्डलका सदस्यहरू उठेर अगाडि झुकेका थिए।

अनुसन्धानकर्ताले कार्पेटबाट नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको पनि अदालतमा बताए। प्रारम्भिक परीक्षणमा नमुनाले गुलाबी प्रतिक्रिया दिएको थियो। अनुसन्धानकर्ताले यसलाई रगत हुन सक्ने संकेतका रूपमा लिएका छन्। तर, यो परीक्षणबाट मात्रै उक्त पदार्थ रगत भएको वा कसको रगत हो भन्ने पुष्टि हुँदैन।

अनुसन्धानका क्रममा घरको बाथरुममा रहेको बाथटब पनि हटाइएको थियो। रेस्टिनोका अनुसार टबको तल्लो भागमा रातो-खैरो दाग देखिएको थियो। टबको किनारामा सिल गर्न प्रयोग गरिएको पदार्थको रेखाभित्र रहेका ती दाग चुहिएको तरल पदार्थका कारण बनेको हुन सक्ने उनको आशंका थियो।

अभियोजन पक्षकी वकिल सारा सामीले उक्त पदार्थ के हुन सक्ने ठानेको भनेर सोध्दा रेस्टिनोले ‘मलाई त्यो रगत हो भन्ने शंका थियो’ भन्ने जवाफ दिए।

तर, बचाउ पक्षका वकिलले यी दागलाई रगतकै प्रमाण मान्न नमिल्ने तर्क गरेका छन्। रेस्टिनोले दाग कहिले परेको थियो र कसरी त्यहाँ पुगेको थियो भन्ने आफूलाई थाहा नभएको बताएका थिए। उनले घरका सबै कोठामा परीक्षण नगरिएको पनि जानकारी दिए।

अदालतमा ब्लूस्टार नामक रसायनबारे पनि छलफल भएको थियो। सम्भावित रगत भएको ठाउँ पत्ता लगाउन प्रयोग गरिने यो रसायनले अँध्यारोमा नीलो चमक देखाउन सक्छ। अनुसन्धानका क्रममा घरको कार्पेट, बाथटब र नुहाउने ठाउँमा यसको प्रयोग गरिएको थियो।

रसायनसम्बन्धी विशेषज्ञ न्यान्सी सुलिन्स्की-स्टेफेन्सले अदालतमा यसको प्रयोग गरेर डेमो प्रदर्शनसमेत गरेकी थिइन्। उनले गाईको मासुबाट निकालिएको रगत भएको झोलामा ब्लूस्टार छर्किँदा नीलो चमक देखिएको बताइन्। त्यसपछि ब्लिच राख्दा भने फरक किसिमको सेतो प्रतिक्रिया देखिएको कुरा देखाइएको थियो।

बचाउ पक्षले ब्लिच, केही सफाइ सामग्री र मूला, सलगम तथा गाजरजस्ता तरकारीले पनि यस्तो प्रतिक्रिया दिन सक्ने भन्दै प्रश्न उठाएको थियो। वकिल लरेल रोडेवाल्डले दाह्री काट्दा, हात काटिएर सिंकमा रगत पर्दा वा महिनावारी हुँदा पनि बाथरुममा यस्तो प्रतिक्रिया देखिन सक्ने सम्भावनाबारे अनुसन्धानकर्तालाई सोधेकी थिइन्। सो अवसरमा अनुसन्धानकर्ताले रगतको मात्रा र अवस्थाका आधारमा यस्तो प्रतिक्रिया आउन सक्ने बताए।

अनुसन्धानकर्ता एन्ड्रिया फेल्डम्यानले घरबाट संकलन गरिएका अन्य प्रमाणबारे पनि बयान दिएकी थिइन्। उनका अनुसार शयनकक्षको दराजमा ममताको नाममा जारी भएको भर्जिनिया ड्राइभर लर्नर परमिट भेटिएको थियो। त्यसमा मानसस पार्कको सट्टा फल्स चर्चको ठेगाना उल्लेख थियो। नरेशले यसअघि प्रहरीलाई ममता छुट्टिएपछि फल्स चर्चमा अपार्टमेन्ट लिएर बसेको बताएका थिए। अनुसन्धानकर्ताले बाथरुमको झ्याल वरपर देखिएका रातो-खैरो दागका नमुना पनि परीक्षणका लागि पठाएका थिए।

सुनुवाइका क्रममा अभियोजन पक्षले नरेशले सन् २०२४ जुलाई ३० र अगस्ट १ मा मानससस्थित वालमार्टमा किनमेल गरेको निगरानी भिडियो पनि देखाएको थियो। वालमार्टकी कर्मचारी एरिका डेलगाडोले भिडियोमा नरेश पसलमा सामान किनिरहेको देखिएको बताइन्।

दाबी अनुसार नरेशले जुलाई ३० मा तीन वटा भान्साका चक्कु, केरा र स्याउ किनेका थिए। तीमध्ये एउटा चक्कु अनुसन्धानकर्ताले भट्टको घरको भान्सामा फेला पारेका थिए। अभियोजन पक्षले ममता अन्तिम पटक जीवित रहेको पुष्टि भएको दिनको भोलिपल्ट चक्कु किनिएको भन्दै यसलाई अनुसन्धानसँग जोडेको हो।

मानसस पार्क प्रहरीका क्याप्टेन डस्टिन वाकरले अनुसन्धानका क्रममा नरेशको गतिविधि र फोन विवरण जाँच गरिएको बताए। नरेशले अगस्ट १ को साँझ ममतालाई फोन गर्ने प्रयास गरेको बताएका थिए। तर, वाकरका अनुसार फोन विवरणबाट उक्त कल पुष्टि हुन सकेन। बचाउ पक्षले घटनाको समयबारे नरेशले दिएको विवरणको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको थियो।

ममता सन् २०२४ को जुलाईदेखि बेपत्ता छिन्। उनी मानसस पार्कस्थित घरबाट हराएपछि खोजी सुरु गरिएको थियो। अगस्ट २२ मा नरेशलाई पक्राउ गरिएको थियो। उनीमाथि पहिलो तहको हत्या, शव लुकाउने र शवको अपमान गर्ने आरोप लगाइएको छ।

अभियोजन पक्षले ममताको हत्या भएको दाबी गर्दै भौतिक प्रमाण, निगरानी भिडियो र अनुसन्धानकर्ताको बयान प्रस्तुत गरिरहेको छ। तर, ममताको शव अहिलेसम्म फेला परेको छैन। नरेशमाथिका आरोपहरू पनि अदालतबाट प्रमाणित भइसकेका छैनन्।

अक्टोबर १५ को सुनुवाइपछि अदालतको काम सप्ताहान्तका लागि स्थगित भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सुनुवाइ आगामी सोमबार पुनः सुरु हुने तय भएको छ।