सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भएका बाबु थापा सर्लाहीबाट हतियारसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको विशेष टोलीले ४८ वर्षीय थापालाई बिहीबार बिहान बागमती नगरपालिका–१ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलका अनुसार थापाको साथबाट ‘मेड इन युएसए’ लेखिएका दुई थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद भएको बताए।

प्रहरीका अनुसार थापा २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागारबाट फरार भएका थिए। फरार रहेका उनलाई प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरबाट पक्राउ गरेको हो।

तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते गोली हानी हत्या गरेको थियो। उक्त हत्याकाण्डमा संलग्न रहेको अभियोगमा थापा २०७१ सालमा पक्राउ परेका थिए। उनी सोही प्रकरणमा दोषी ठहर भएका प्रतिवादी हुन्।

लामो समयदेखि चर्चामा रहेको न्यायाधीश बम हत्या प्रकरणका दोषी ठहर भएका व्यक्ति कारागारबाट फरार भएपछि हतियार सहित पक्राउ पर्नुले घटनालाई पुनः चर्चामा ल्याएको छ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान तथा बरामद हतियारको कानुनी प्रक्रियासम्बन्धी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

‘जेनजी आन्दोलनमा कारागारबाट फरार भएका उनलाई पक्राउ गरेका छौं। अब काठमाडौं पठाउँछौं।’ थापा गत भदौ २४ मा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए।