नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रको निरीक्षण गर्न मंगलबार रसुवाको स्याफ्रुबेसी पुगेका छन्। बाढीपछि स्याफ्रुबेसी पुगेका दाहालले त्यहाँको प्राकृतिक सुन्दरताबारे आफूले पहिले नै सुनेको बताए।

निरीक्षणका क्रममा प्रचण्डले स्याफ्रुबेसीको पुल तत्काल पुनर्निर्माण गर्न र रसुवागढीसम्म सडक सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गरे। उनले बाढीबाट भएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गरे।

विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढीजस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै प्रचण्डले अन्तर्राष्ट्रिय समुदायले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताए। उनले स्याफ्रुबेसीबाट नेपालको जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे।

धुन्चेमा जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा समेत सहभागी भएका छन् । उनले सडक सञ्जाल विस्तार र आवास पुनर्निर्माणलाई अबको मुख्य कामका रूपमा अघि बढाउनुपर्ने बताए।

काठमाडौं फर्किएपछि संसद् र सरकारको ध्यानाकर्षण गराउँदै स्याफ्रुबेसीमा बेलीब्रिज निर्माण तथा सडक सञ्जाल विस्तारका लागि पहल गर्ने उनले बताए।