साउदी अरेबियाको हवाई प्रतिरक्षा प्रणालीले सोमबार बिहान यमनका हुथी समूहले खामिस मुशैत सहरतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र रोकेर नष्ट गरेको छ।

दक्षिणपश्चिमी क्षेत्रको आभामा पनि सम्भावित आक्रमणको चेतावनी जारी गरिएको थियो। पछि खतरा टरेको घोषणा गरिएको छ।

यमनको सरकारलाई समर्थन गर्दै आएको अरब गठबन्धनले साउदी अरेबियातर्फ आउन सक्ने ड्रोन र क्रुज क्षेप्यास्त्रको निगरानी गरिरहेको जनाएको छ। गठबन्धनका प्रवक्ता तुर्की अल-मलिकीले सामाजिक सञ्जाल एक्समार्फत क्षेप्यास्त्र रोकिएको जानकारी दिएका हुन्।

यसैबिच, राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने अवधि बढाइएको छ। विमानस्थलका संरचनाको सुरक्षा जाँच पूरा गर्न उडान सञ्चालन स्थगन लम्ब्याइएको साउदी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

शनिबार भएको आक्रमणपछि विमानस्थल बन्द गरिएको थियो। आइतबार टर्मिनल ४ मा अज्ञात वस्तु खस्दा भएको आगलागीमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको र ११ जना घाइते भएको प्राधिकरणले जनाएको छ। घाइतेलाई अस्पताल लगिएको छ। गठबन्धन सेनाले विमानस्थलनजिकै अर्को क्रुज क्षेप्यास्त्र पनि रोकेर नष्ट गरेको बताएको छ।

हुथी समूहले शनिबार रियाद विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको छ। उक्त समूहले दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी तेल कम्पनी अरामकोका दुई संरचनामा पनि आक्रमण गरेको दाबी गरेको छ।

साउदी अधिकारीहरूले दमाम विमानस्थललाई लक्षित गरी आक्रमण भएको पुष्टि गर्दै क्षतिको मूल्यांकन र सुरक्षा जाँच भइरहेको बताएका छन्।

पछिल्ला साताहरूमा साउदी अरेबियाका खामिस मुशैत, आभा, जाजान र नजरान क्षेत्रमा पनि क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका घटना भएका छन्। यसले विमानस्थलसहित नागरिक पूर्वाधारको सुरक्षाबारे चिन्ता बढाएको छ।

यसैबिच, साउदी विदेशमन्त्री फैसल बिन फरहान र इरानी विदेशमन्त्री अब्बास अराघाचीबिच क्षेत्रीय तनाव कम गर्ने उपायबारे छलफल भएको छ। अराघाचीले साउदी अरेबिया र यमनबिच वार्ता गराउन सहयोग गर्न इरान तयार रहेको बताएका छन्।

रियाद विमानस्थलमा भएको घटनापछि पाकिस्तान, टर्की, बहराइन, बेलायत, जोर्डन र युरोपेली संघले साउदी अरेबियाप्रति ऐक्यबद्धता जनाएका छन्।