साउदी अरेबिया र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय तनाव कम गर्ने र कूटनीतिक समाधान खोज्ने विषयमा छलफल भएको छ। यमनका हुथी समूहले साउदी अरेबियाका विमानस्थललाई लक्षित गरी आक्रमण बढाएपछि दुई देशका विदेशमन्त्रीबीच संवाद भएको हो।

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान र इरानी विदेशमन्त्री अब्बास अराघाचीबीच आइतबार फोनवार्ता भएको थियो।

अराघाचीले टेलिग्राममार्फत इरान साउदी अरेबिया र यमनबिच संवाद सहज बनाउन सहयोग गर्न तयार रहेको बताएका छन्। उनले सैन्य कारबाहीमा मात्र जोड दिएर राजनीतिक समाधानलाई बेवास्ता गर्दा समस्या थप जटिल हुने चेतावनीसमेत दिएका थिए।

यसैबिच, साउदी अरेबियाका विमानस्थलमा भएका हुथी आक्रमणमा दुई दिनमा १४ जनाको मृत्यु भएको र ३२० जना घाइते भएको विवरण सार्वजनिक भएको छ। शनिबार रियादस्थित किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने ३०९ जना घाइते भएका थिए।

आइतबार विमानस्थलको टर्मिनल ४ मा अर्को अज्ञात वस्तु खस्दा आगलागी भएको थियो। उक्त घटनामा एक पाकिस्तानी नागरिकको मृत्यु भएको र ११ जना घाइते भएको साउदी नागरिक उड्डयन निकायले जनाएको छ। दुवै घटनाको विवरण जोड्दा दुई दिनमै मृतकको संख्या १४ र घाइतेको संख्या ३२० पुगेको हो।

यसअघि साउदी विदेशमन्त्री फैसलले बहराइन, बेलायत, जोर्डन र युरोपेली संघका प्रतिनिधिसँग पनि कुराकानी गरेका थिए। उनीहरूले साउदी अरेबियाप्रति समर्थन जनाउँदै नागरिक पूर्वाधारलाई लक्षित गरी भएका आक्रमणको निन्दा गरेका छन्।

बहराइनका विदेशमन्त्री अब्दुललातिफ बिन रशिद अल-जायनीले आक्रमणमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले साउदी अरेबियाको सुरक्षा र स्थायित्व कायम राख्ने प्रयासमा बहराइनको समर्थन रहने बताएका छन्।

बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले पनि साउदी अरेबियाका नागरिक पूर्वाधारमाथि भएका आक्रमणको निन्दा गर्दै आफ्नो देशको समर्थन व्यक्त गरेका छन्।

जोर्डनका विदेशमन्त्री अयमान सफादीले आक्रमणमा घाइते भएका जोर्डनी नागरिकलाई उपचार र सहयोग उपलब्ध गराएकोमा साउदी अधिकारीहरूको प्रशंसा गरेका छन्। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले नागरिक र नागरिक पूर्वाधारमाथिका अन्धाधुन्ध आक्रमणको कुनै औचित्य नरहेको बताएकी छन्।

साउदी अरेबियाका विमानस्थलमा भएका पछिल्ला आक्रमणले नागरिक पूर्वाधारको सुरक्षा र क्षेत्रीय तनाव थप फैलिन सक्ने जोखिमबारे चिन्ता बढाएको छ।

यो पनि पढ्नुहोस्

हुथी क्षेप्यास्त्रको खतरा बढ्दा साउदीमा विमानस्थल बन्द रहने अवधि लम्बियो