सिरिङ्गे हिमालमा गएको हिमपहिरोपछि गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीमा बेपत्ता भएका ५ जना स्थानीयको खोजीका साथै राहत र पुनर्निर्माण कार्यलाई सरकारले तीव्र पारेको छ।

आइतबार बिहान सिरिङ्गे हिमालको हिमपहिरोले उइन्गुलुङ खोला थुनिएर बुढीगण्डकीमा बाढी आएको थियो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा हाल घटनास्थलमा ७०३ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

बाढी आउनुअघि आरुघाट जलमापन केन्द्रमा नदीको सतह ५ मिटरको खतराको तह नाघेर ८.४३ मिटरसम्म पुगेको थियो। सम्भावित मानवीय क्षति रोक्न प्राधिकरणले जोखिम क्षेत्रका करिब दुई लाख नागरिकलाई पूर्वसूचना सन्देश पठाउनुका साथै कमान्ड पोस्टमार्फत उद्धार समन्वय गरेको थियो।

बाढीले गोरखा र धादिङका २०० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ भने करिब डेढ सय चौरीगाई तथा भेडाबाख्रा बगाएको छ।

खानेपानी, निर्माणाधीन जलविद्युत् आयोजना, विद्यालय तथा मनास्लु पदमार्गमा क्षति पुगेको छ। गोरखा-धादिङ जोड्ने मुख्य सडकका ३ पक्की पुल र २ झोलुङ्गे पुलसमेत बाढीले क्षतिग्रस्त बनाएको छ।

आपत्कालीन राहतका लागि सरकारले काठमाडौंबाट हवाई साधनमार्फत गोरखाको फिलिममा ४ हजार २७० केजी खाद्यान्न र १ हजार ९०० लिटर हवाई इन्धन ढुवानी गरी वितरण अघि बढाएको छ।

यातायात पुनः सञ्चालन गर्न आरुघाट-सल्यानटार जोड्ने पुलका लागि हेटौंडाबाट बेलिब्रिजका सामग्री ल्याएर तीव्र रूपमा काम भइरहेको छ।

त्यस्तै, छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभान-सल्लेरी सडक खुलाउने प्रयास जारी छ। दसैंअगावै अवरुद्ध सबै सडकहरू सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ।