चीनको वुहान सहरका पूर्व मेयर झोउ सियानवाङलाई भ्रष्टाचार र घुस लिएको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ। अदालतले उनलाई ५० लाख युआन जरिवाना पनि तोकेको छ।
मध्य चीनको हेनान प्रान्तस्थित शाङ्किउ अदालतका अनुसार झोउले सन् २००३ देखि २०२५ सम्म विभिन्न सरकारी पदमा रहँदा कम्पनी र व्यक्तिलाई ठेक्का दिलाउन तथा सरकारी काममा स्वीकृति दिलाउन सहयोग गरेका थिए। त्यसबापत उनले छ करोड पाँच लाख युआनभन्दा बढी नगद र सम्पत्ति घुस लिएको अदालतले जनाएको छ।
अदालतले उक्त रकम ठुलो भएको बताएको छ। झोउले आफ्नो गल्ती स्वीकार गरेको, अनुसन्धानमा सहयोग गरेको र घुसबाट कमाएको रकम फिर्ता गरेको भन्दै उनको सजाय केही घटाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
६४ वर्षीय झोउ सन् २०१८ मा वुहानको उप-पार्टी सचिव बनेका थिए। त्यही वर्ष सेप्टेम्बरमा उनी सहरको मेयर नियुक्त भएका थिए। सन् २०१९ को अन्त्यतिर वुहानमा कोभिड-१९ फैलिन थालेपछि संक्रमण नियन्त्रण र त्यसबारे जानकारी सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै उनको आलोचना भएको थियो।
सन् २०२० जनवरी २० मा उनले सरकारी अनुमति नलिई संक्रामक रोगबारे जानकारी सार्वजनिक गर्न नसकिने बताएका थिए। त्यसको तीन दिनपछि जनवरी २३ मा वुहानमा लकडाउन सुरु भएको थियो। लकडाउन ७६ दिनसम्म चलेको थियो।
हङकङ फ्री प्रेसका अनुसार चीनको केन्द्रीय अनुशासन निरीक्षण आयोगले सन् २०२५ को जुलाईमा झोउमाथि अनुसन्धान सुरु गरेको थियो। सन् २०२१ मा मेयर पद छाडेपछि उनी राजनीतिक सल्लाहकार निकायमा आबद्ध थिए।
चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१२ मा सत्तामा आएदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका छन्। यस क्रममा उच्च तहका सरकारी अधिकारीमाथि पनि कारबाही हुँदै आएको छ। एजेन्सी

प्रतिक्रिया