जापानमा ३० देखि ४० वर्ष उमेर समूहका महिलाको शारीरिक तन्दुरुस्ती पछिल्लो करिब २५ वर्षमा घटेको सरकारी सर्वेक्षणले देखाएको छ।
आइतबार सार्वजनिक सर्वेक्षणअनुसार यी उमेर समूहका महिलामा खेलकुद क्लबमा आबद्ध हुने र हप्तामा कम्तीमा एक पटक व्यायाम गर्ने प्रवृत्ति पनि घटेको छ।
जापान खेलकुद एजेन्सीले गरेको सर्वेक्षणअनुसार घरायसी काम, बालबच्चाको हेरचाह र जागिरको जिम्मेवारीबिच सन्तुलन मिलाउनुपर्ने भएकाले केही महिलाले चाहेर पनि व्यायाम गर्न नसकेको विश्लेषकहरू बताउँछन्।
समय र आर्थिक अभावले शारीरिक गतिविधिमा असर पारेको उनीहरूको भनाइ छ।
नागरिकको आधारभूत शारीरिक तन्दुरुस्ती र चलायमान क्षमताको मूल्यांकन गरी सरकारी नीतिमा सुधार गर्न जापानमा सन् १९६४ देखि हरेक वर्ष यस्तो सर्वेक्षण हुँदै आएको छ। सन् १९९८ देखि सर्वेक्षणमा ६० र ७० वर्ष उमेर समूहका मानिसलाई पनि समेटिएको थियो। यसले सर्वेक्षणको उमेर दायरा ६ देखि ७९ वर्षसम्म पुर्याएको छ।
सन् २०२५ को सर्वेक्षण गत वर्ष मेदेखि अक्टोबरसम्म गरिएको थियो। यस क्रममा करिब ६० हजार जनाबाट तथ्यांक संकलन गरिएको थियो।
सन् २००१ को नतिजालाई १०० प्रतिशत आधार मानेर गरिएको तुलनामा सन् २०२५ सम्म ३० वर्ष उमेर समूहका जापानी महिलाको शारीरिक तन्दुरुस्तीको अंक घटेर ९६.३ प्रतिशतमा झरेको छ। त्यस्तै, ४० वर्ष उमेर समूहका महिलाको अंक ९३.६ प्रतिशतमा पुगेको छ।
क्योडो न्युजका अनुसार हप्तामा कम्तीमा एक पटक व्यायाम गर्ने ३० वर्ष उमेर समूहका महिलाको अनुपात करिब ४० प्रतिशतबाट घटेर ३० प्रतिशतमा झरेको छ। ४० वर्ष उमेर समूहका महिलाको हकमा भने यो अनुपात ४० प्रतिशतको उच्च दायराबाट घटेर ४० प्रतिशतको न्यून दायरामा पुगेको छ।
त्यस्तै, खेलकुद क्लब वा यस्तै सुविधामा आबद्ध ३० वर्ष उमेर समूहका महिलाको अनुपात सन् २००१ मा करिब ३० प्रतिशत थियो। तर, सन् २०२५ सम्म यो घटेर करिब १० प्रतिशतमा झरेको छ। सर्वेक्षणले पुरुषको तुलनामा महिलामा क्लब सदस्यता घट्ने दर बढी देखाएको छ।
उक्त सर्वेक्षणमा सहभागी जापानको खुला विश्वविद्यालयकी प्राध्यापक नोरिको सेकिनले पुरुषको तुलनामा महिलाले घरायसी काम र बालबच्चा हुर्काउने जिम्मेवारी बढी वहन गर्नुपर्ने भएकाले शारीरिक गतिविधिमा लैंगिक अन्तर देखिएको बताइन्।
उनका अनुसार एक्लै बस्ने महिलासँग खेलकुद क्लबको सदस्यता लिन आवश्यक पर्याप्त आम्दानी नहुन पनि सक्छ।

प्रतिक्रिया