स्वर संगम संगीतालय, विराटनगरले दशैंको शुभारम्भसँगै मासिक बैठकी शृङ्खला सुरू गरेकाे छ।

कवि विवश पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ। यही महिनादेखि सुरु गरेको मासिक बैठकी शृङ्खला -१ मा तीसको दशकदेखि नेपाली साहित्यको कथा, कविता सिर्जनामा समर्पित कवि पोखरेलले यस कार्यक्रममा पहाड, समय, निस्तब्ध किनारामा, शब्द स्मृतिमा आमा, वसन्तले आत्महत्या गरेको दिन , सेतो घर, स्वास्नी, गुलाफ सन्चै छ? ऊसँगको भेटमा, अहिले गाउँमा केही छैन , बुद्धको मृत्यु, छोरी, बुद्धिकान्तको घडी, बग्दैबग्दै जाने छोरासँग, शालिनी, एउटी नगरवधुको डायरी शीर्षकका विविध विषयका सत्र कविता वाचन गरेका थिए।

मालश्री धुनबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा वाचित कविताहरूमा संगीतालयका कलाकारहरूले मीठो संगीत दिएर कवितालाई अझ प्रभावशाली र जीवन्त बनाएका थिए।

कवि, कथाकार पोखरेलका कथा कविता, बालसाहित्य, निबन्ध, मुक्तक विधाका नौ कृति प्रकाशित छ्न्। उनले दर्जनौं कृतिको समेत सम्पादन गरेका छन्। उनी कवि , कथाकार मात्र नभएर एक कुशल साहित्यिक अभियन्ता समेत हुन्। उनी विराटनगर प्रज्ञा प्रतिष्ठान, पूर्वान्चल साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन्।

स्वर संगम संगीतालयका प्रमुख संगीतकार कुश्वेश्वर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शुभकामनासँगै वाचित गरिएका कविताहरूमाथि कवि मनु मन्जिलले समीक्षा गरेका थिए। आमन्त्रित अतिथिहरूलाई स्वागत संगीतालयका सचिव महिमा शर्माले स्वागत गरिन् भने कार्यक्रमको सन्चालन कवि शुभलक्ष्मी लम्सालले गरेकी थिइन्।